| सोमवार, कार्तिक २३, २०८३

गोरखामा जनसंख्या भन्दा मतदाता धेरै ?

शिव उप्रेती

कमजोर जनगणना र मतदाता नामावली अद्यावधिक चुस्त नहुँदा गोरखाका चार पालिकामा जनसंख्या भन्दा मतदाता संख्या धेरै देखिएका छन् । जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा शहीदलखन, सिरानचोक, भीमसेन र गण्डकी गाउँपालिकामा जनसंख्या भन्दा मतदाता संख्या बढि देखिएको हो ।

कार्यालयका अनुसार जम्मा २२ हजार ४२९ जनसंख्या रहेको शहीदलखन गाउँपालिकामा मतदाता संख्या भने २३ हजार ६७५ रहेको पाइएको छ । १९ हजार ८२९ जनसंख्या रहेको सिरानचोक गाउँपालिकामा मतदाता संख्या भने २१ हजार ३५८ रहेको छ । त्यस्तै १७ हजार ११८ जनसंख्या रहेको भीमसेनथापा गाउँपालिकामा मतदाता संख्या भने १९ हजार ७७२ रहेको छ । १८ हजार ५७९ जनसंख्या रहेको गण्डकी गाउँपालिकामा मतदाता संख्या २१ हजार ६६२ रहेको कार्यालयले जनाएको छ ।

जनगणनामा भर्खर जन्मेको बच्चाकोसमेत गणना गरिन्छ भने मतदाता सूचीमा १८ बर्ष उमेर पुगेपछि मात्र नामावली अंकित हुने गर्छ । तर यहाँ जिल्लाको तथ्यांक केलाउँदा मतदाता संख्या र जनसंख्या उस्तैउस्तै देखिन्छ भने कुनै पालिकामा जनसंख्या भन्दा मतदाता संख्या बढि देखिन्छ ।

गोरखा नगरपालिकामा पनि जनसंख्या र मतदाता संख्या उस्तैउस्तै रहेको छ । यहाँको मतदाता संख्या जनसंख्या भन्दा एकसय १३ जनाले मात्र कम छ । ५३ हजार २८५ जनसंख्या रहेको यहाँको मतदाता संख्या पनि ५३ हजार १७३ रहेको छ ।

पालुङटार नगरपालिकामा भने मतदाता संख्या ३२ हजार ८१५ र जनसंख्या ३७ हजार २७४ रहेको छ । त्यस्तै १३ हजार ००२ जनसंख्या रहेको अजीरकोट गाउँपालिकामा मतदाता संख्या १२ हजार ६२५, २३ हजार २२२ जनसंख्या रहेको बारपाक सुलीकोटमा मतदाता संख्या २०५६८ र १४ हजार ५६३ जनसंख्या रहेको धार्चेमा मतदाता संख्या १० हजार ९२८ रहेको छ ।


जनसंख्या २१ हजार ८७६ रहेको आरुघाट गाउँपालिकामा मतदाता संख्या १८ हजार ७५१ रहेको छ भने छ हजार ७८९ जनसंख्या रहेको चुमनुब्री गाउँपालिकाको मतदाता संख्या पाँचहजार ११० रहेको छ ।
तथ्यांक कार्यालयका अनुसार गोरखाको जनसंख्या दुईलाख ५१ हजार ४९ रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत माघसम्म गोरखाको मतदाता संख्या दुईलाख १९ हजार ३९४ रहेको छ ।

मृत्यू, बसाइँसराई, विदेश जाने, विवाह गरेर जानेहरुका कारण तथ्यांक तलमाथि देखिएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइराला बताउँछन् । ‘यो हामीले गाउँपालिकामा रुजुका लागि पठाएको तथ्यांक हो’, कोइराला भन्छन्, ‘दोहोरिने, मृत्यू हुनेको रुजू गर्दा दुईतीन हजारको संख्या घट्न सक्छ भन्ने हाम्रो अनुमान छ ।’

मतदाता नामावली धेरै बर्षअघिदेखि अद्यावधिक नगरिको तर जनगणना पछिल्लो अद्यावधिक भएकाले मतदाता भन्दा जनसंख्या कम देखिएको हुनसक्ने तथ्यांक कार्यालयका लोकप्रसाद ढुंगानाको भनाइ छ । बसाइँसराई गरी जाने, मृत्यू हुनेको नामावली मतदाता नामावलीबाट नहटाइएकाले यस्तो भएको उनले बताए ।

झट्ट हेर्दा जनसंख्या भन्दा मतदाता संख्या धेरै हुनु आश्चर्यजनक रहेको तथ्यांकका जानकार पवनरमण खनाल बताउँछन् । ‘तर जनगणना र मतदाता संख्याको प्रकृति फरक छ’, खनाल भन्छन्, ‘कामकाजी मान्छेहरुको जनगणना कार्यस्थलमा हुन्छ तर, मतदाता नामावली जन्मस्थलमा टिपाउँछन् । त्यसैले जनसंख्या भन्दा मतदाता संख्या धेरै देखिएको हो ।’ बर्षौँदेखि काम विशेषले काठमाडौँमा बसेकाहरुले मतदाता नामावली गाउँमै टिपाएका तर कार्यस्थलमै जनगणना गरेकाले जनसंख्या भन्दा मतदाता धेरै देखिएका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्