
उद्योग बाणिज्य संघ गोरखाको त्रिवर्षीय कार्ययोजना तयार
उद्योग बाणिज्य संघ गोरखाले त्रिवर्षीय कार्ययोजना तयार गरेको छ । शुक्रवार र शनिवार सौराहामा एक कार्यक्रमको आयोजना गरी आगामी तीनवर्ष संचालन हुने कार्यक्रम र योजना तयार गरिएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
नयाँ समिति चयन भएसँगै कार्यकालभरि गर्ने काम, संघको योजना तर्जुमा गरेर क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने गरिएको उनले बताए । संघले कुन मितिमा के काम गर्ने भन्ने कार्ययोजनाअनुसार अघि बढ्नेछ । उद्योग तथा ब्यापारलाई सुब्यवस्थित, संरक्षण, सम्वद्र्धन तथा ब्यवशायीको हक हितका लागि योजनाले फाइदा पुग्ने सहजकर्ता अध्यक्ष श्रेष्ठले बताए ।
योजना तर्जुमा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त निजी क्षेत्र र सरकारी क्षेत्रको सहकार्यमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । साथै उनले नगरपालिका र निजी क्षेत्रको साझेदारीमा काम गर्न तयार रहेको र सोही अनुसार योजना बनाउन सुझाब दिए ।
‘हामीले कसरी अघि बढ्ने भन्ने खाका बनाएका छौँ’, संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले भने, ‘संघले के गर्ने, इकाईमा कस्ता कार्यक्रम गर्ने, ब्यापार ब्यवशाय प्रवद्र्धन गर्न के गर्ने भन्ने योजना बनाइएको छ ।’
उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष श्रवणकुमार जोशी, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीबनज्योति श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले धारणा राखेका संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । गोष्ठीमा उद्योग बाणिज्य संघका कार्य समिति, महिला उद्यमी बिकास समिति, संघका बिभिन्न पालिका इकाईका अध्यक्षहरु लगायतको सहभागिता थियो ।




