| सोमवार, कार्तिक २३, २०८३

मतदातालाई सहज व्यवहार गर्नुपर्ने

सर्वसाधारणका लागि राजनीतिक कार्यक्रम यसै कम प्राथमिकतामा पर्छ, त्यसमाथि पनि एकफेर मतदान गरिसकेपछि परिचयपत्रको जतन हुँदैन । कतिपयको घरमा आगालागी हुन्छ, कतिपयको पहिरोमा परेर नष्ट हुन्छ । कतिपयको कुनै विशेष कारणले हराउँछ । जे होस्, धेरै मतदाताको मतदाता परिचय पत्र हराएको छ । उनीहरुले आगामि निर्वाचनमा कसरी मतदान गर्ने ? के को आधारमा मतदान गर्ने ?

यतिबेला राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीहरु, नागरिक समाजका अगुवाहरुलाई चासो र चिन्ताको विषय यही बनेको छ । मतदाता परिचयपत्र हराएका व्यक्तिलाई वडाको सिफारिस बनाउने अनि फेरि परिचयपत्र बनाउनेलगायका कार्यहरु झन्झटिलो हुने गरेको छ । भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा मतदातालाई जिल्ला निर्वाचन कार्यालयसम्म आउजाउ गर्न समस्या छ । त्यसैले उनीहरुलाई अतिरिक्त दुखसास्ती नदिई सहजरुपमा मतदाता परिचय पत्र बनाइदिनुपर्छ ।

त्यसैले मतदातालाई सहज रुपमा परिचय पत्र उपलब्ध गराउनु पर्ने, नभए नागरिकताको आधारमा भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ । कतिपय वडा कार्यालयले मतदाता परिचय पत्र बनाइदिने ब्यहोराको सिफारिस बनाएको पाँचसय रुपैयाँ असुल्ने गरेका छन् ।
आगामि चुनावमा भूगोल र जनसंख्याको आधारमा मतदान केन्द्रहरु थप गर्नुपर्छ । जसले गर्दा यसअघिका मतदान कार्यक्रममा झैँ घण्टौँ हिडेर भोट हाल्न जानु नपरोस् ।

निर्वाचन आयोगको वेबसाइटमा २०७७ पुस ५ गतेअघि दर्ता गरेका नागरिकहरुको मात्र नामावली रहेको र सो समयभन्दापछि दर्ता गरेकाहरुको मतदाता परिचयपत्रको सूची हेर्न पाइएको छैन । यो हेर्न पाइने व्यवस्था चाँडै होओस् ।

मतदाता नामावली दर्ता गराएपछि तत्काल आफ्नो विवरण वेबसाइटमा हेर्न मिल्ने व्यवस्था मिलाउन एवं अघिल्लो चुनावमा जस्तै यस पटकको चुनावमा समेत सबै मतदाताको मतदाता परिचयपत्र तोकिएको मतदान केन्द्रमा उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगलाई अनुरोध गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्