| सोमवार, कार्तिक २३, २०८३

नागरिकताको आधारमा भोट हाल्न पाउनु पर्ने सरोकारवालाको माग

मतदाता परिचय पत्र हराएका मतदाताले नागरिकता लगायतका सरकारी परिचय खुल्ने पत्रको आधारमा भोट हाल्न पाउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले शुक्रबार आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सरोवालाहरुले सो व्यवस्था गर्न माग गरेका हुन् ।

निर्वाचन आयोगले यस अघिका निर्वाचनमा चुनाव हुनु केहि समय अगाडि मतदान स्थलमा मतदाता परिचय पत्र वितरण गर्ने गरेको थियो । तर आगामी स्थानीय तहको निर्वाचनामा भने यसअघि वितरण गरिएको मतदाता परिचय पत्रका आधारमा मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

यसअघि वितरण गरिएको मतदाता परिचय पत्र हराएमा वडा कार्यालयको सिफारिसमा निर्वाचन कार्यालयले मतदाता परिचय पत्र दिने व्यवस्था गरेको छ । त्यसैले आगामीे निर्वाचनमा पनि यस अघिका निर्वाचनको क्रममा संकलन गरिएको अभिलेखका आधारमा निर्वाचन आयोगले सबै नागरिकलाई मतदाता परिचय पत्र वितरण गर्न सरोकारवाला माग गरेका हुन् ।

कार्यक्रममा नेपाली काग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले मतदाता परिचय पत्र हराएका व्यक्तिलाई वडाको सिफारिस ल्याउने लगायका कार्यहरु झन्झटिलो हुने भएकाले विगतमा जस्तै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गर्नुपर्ने माग गरे । भौगोलिक विकटता कारण दुर्गम क्षेत्रमा मानिसहरु निर्वाचन कार्यालयसम्म आउजाउ गर्न समस्या हुने भएकाले सहजरुपमा मतदाता परिचय पत्र उपलबध गराउनुपर्ने उनको तर्क थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले यसअघि जस्तै मतदान केन्द्रमा मतदाता परिचय पत्र उपलब्ध गराउनु पर्ने, नभए नागरिकताको आधारमा भोट हाल्न पाउनुपर्ने माग गरे ।
आगामी निर्वाचनमा कोही नदोहोरियुन् र कोही नछुटुन् भनी मतदाता नामावली सच्याउन समय थोरै भएको भन्दै आयोग समक्ष थप समय माग गर्नुपर्ने नेकपा एमाले गोरखाका सचिव काजीराम रोकाले बताए । भूगोल र जनसंखयाको आधारमा मतदान केन्द्रहरु थप गर्न समेत आवश्यक छलफल हुनुपर्नेमा उनले जोड दिए । जनता समाजवादी पार्टी गोरखाका सचिव विपिनचन्द्र ढकालले मतदाता परिचयपत्र हराएकाहरुलाई वडाको सिफारिस लिनुपर्ने व्यवस्था नागरिकलाई खर्चालु र झञ्झटिलो भएको भन्दै आफ्नो नागरिकताको आधारमा परिचयपत्र उपलब्ध गराउनुपर्ने वा नागरिकताको आधारमा भोट हाल्न पाउनुपर्ने माग गरे ।

त्यस्तै आयोगको वेबसाइटमा २०७७ पुस ५ गतेअघि दर्ता गरेका नागरिकहरुको मात्र नामावली रहेको र सो समयभन्दा पछि दर्ता गरेकाहरुको लिस्ट हेर्न नपाएकाले भन्दै नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्ष यादव बस्नेतले सो समयपछि दर्ता गरेकाहरुको नामावली हेर्न नपाउँदा कस्को छुट्यो र कस्को दोहोरियो भनेर हेर्नबाट बन्चित भएको गुनासो गरे ।

आयोगले दिएको मतदाता परिचयपत्र लापार्बाही पूर्वक हराउने गरेकाले आगामी निर्वाचनमा नागरिकलाई सचेत गराएर मात्र मतदाता परिचयपत्र उपलब्ध गराउनुपर्ने मावन अधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीले बताए ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले मतदाता परिचयपत्र नभएकै आधारमा कोही पनि मतदान गर्नबाट बन्चित हुन नपर्ने व्यवस्था मिलाउन आग्रह गर्दै दुर्गम क्षेत्रमा पनि सहज वातावरणमा भोट हाल्न पाउने व्यवस्था गर्न माग गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संघीयता पछि कतिपय स्थानीय तहमा साविकका वडाहरु र मतदान स्थल परिवर्तन भएकाले आम नागरिकहरुलाई अन्यौल नहुने गरी सहज रुपमा मतदाता परिचय पत्र उपलब्ध गरी भोट हाल्ने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा सबै सरोकारवाला निकायबाट आएको सुझाव संकलन गर्दै नागरिकता लगायतका परिचय खुल्ने अन्य सरकारी परिचयपत्रबाट समेत मतदान गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन कार्यालयमार्पmत निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय भएको छ ।
त्यस्तै, मतदाता नामावली दर्ता गराएपछि तत्काल आफ्नो विवरण वेबसाइटमा हेर्न मिल्ने व्यवस्था मिलाउन एवं अघिल्लो चुनावमा जस्तै यस पटकको चुनावमा समेत सबै मतदाताको मतदाता परिचयपत्र तोकिएको मतदान केन्द्रमा उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरुङ, नेकपा माओवादीका प्रदेश सांसद लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जिल्ला अदालतका जिल्ला न्यायधीश दिनबन्धु बराल, स्थानीय तहका प्रमुख, विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्