
गोरखाका ८ पालिकामा साक्षरता परियोजना संचालन हुने
गोरखाका आठ वटा पालिकाका एकसय विद्यालयमा साक्षरता परियोजना संचालन हुने भएको छ । रुम टु रिडको आर्थिक सहयोग एवं पढ्नको लागि कोठा काठमाडौंको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले सो विद्यालयमा साक्षरता परियोजना संचालन गर्न लागेको हो ।
गोरखा सदरमुकाममा बुधबार सम्पन्न भएको कार्यक्रममा संस्थाका वरिष्ठ फिल्ड व्यवस्थापन सुशील तिम्सिनाले विभिन्न स्थानीय सरकारहरुसँगको साझेदारीमा गोरखामा साक्षरता कार्यक्रम तथा वालिका शिक्षा कार्यक्रम संचालन गर्न लागेको बारेमा जानकारी गराइएका थिए ।
एकीकरण नेपाल गोरखाले विभिन्न स्थानीय सरकारहरुसंगको समन्वयमा सयवटा विद्यालय छनौट गरी नयाँ शैक्षिक सत्रवाट काम अगाडि वढाउने गरी छलफल अगाडि बढेको एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । यो कार्यक्रम तीनवर्षसम्म संचालन हुने बताइएको छ । परियोजनाको मोडालिटी अनुसार काम अगाडि बढाउने कुरामा स्थानीय तहहरु सकारात्मक रहेको फिल्ड व्यवस्थापक तिम्सिनाले वताए ।

कार्यक्रमले प्राथमिक तहका बालबालिकाहरुको पठन सीप तथा पढ्ने बानीको विकासका लागि कक्षाकोठा व्यवस्थापन, पुस्तकालय तथा शिक्षकहरुको पेशागत विकास र वालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षा उतिर्ण गर्नका लागि जीवनोपयोगी शिक्षामा सहयोग पुग्ने रुम टु रीडको साक्षरता निर्देशक नेत्र दाहालले जानकारी दिए ।
यस कार्यक्रमले गोरखाको समग्र शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्ने भन्दै गुणस्तरीय शिक्षामा स्थानीय तहले काम गर्नुपर्ने जिल्लो समन्वय समितिको प्रमुख अशोक कुमार गुरुङले बताए । जिल्ला समन्वय समितिको प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको मेयर राजनराज पन्त पालुंटार नगरपालिको मेयर दीपकबावु कँडेल, ६ वटा पालिकाको अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, विभिन्न पालिकाको उपाध्यक्ष तथा उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समन्वय इकाईको प्रमुख, जिल्ला समन्वय अधिकारी, पत्रकार महासंघ गोरखा र गैरसरकारी सस्था महासंघवाट उपस्थिति रहेको थियो ।




