
चारवर्षमा पनि पुरा भएन बसपार्क निर्माण
केशव गुरुङ
जिल्लाभित्र र बाहिरबाट गोरखा सदरमुकाम भित्रिएका सवारी साधन व्यवस्थापन गर्न सधै समस्या हुने गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालकले सधैँ सास्ती खेप्नुपरेको हो ।
बसपार्क नहुँदा अहिले गोरखा सदरमुकाममा सडक छेउ, सवारी धनी वा चालकको घर अगाडी अब्यवस्थित रुपमा पार्कीङ गर्ने क्रम बढेको छ । पार्कीङ समस्या समाधानका लागि गोरखा नगरपालिका वडा नं ७ स्थित डण्डीडाँडामा बसपार्क निर्माण सुरु गरेको वर्षौ भइसकेको छ । तर हाल सम्म बसपार्क निर्माण पुरा नहुँदा संचालन आउन सकेको छैन ।
बसपार्क निर्माणका लागि पर्याप्त बजेट विनियोजना नहुँदा र बसपार्क सम्म सहज सडकको पहुच नपुग्दा बसपार्क निर्माण कार्यमा ढिलाई भएको संघीय आयोजना कार्यानवय ईकाइ कास्की सबइन्जिनीयर पुरुषोत्तम पंगेनीले बताए । बसपार्कमा हाल सम्म रिटनिङ वाल निर्माण र ग्रावेलको काम भइकेको छ । दुई वटा ब्लगमा कार्यालय, टिकट काउन्टर, शौचालय लगायत गरी पाँच वटा कोठाको भवन निर्माण भइसकेको उनले बताए ।
थप पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा ४५ लाख बजेट विनियोजना भएको छ । उक्त बजेटबाट बसपार्कमा नाली निर्माण गर्ने, बाटो पिच गर्ने, ढलान गर्ने लगायतका पूर्वाधार निर्माणका लागि शिव निर्माण सेवाले जिम्मा लिएको उनले बताए । सम्झौता भए
अनुसार आगामी असार मसान्त सम्ममा सबै काम सक्नुपर्ने छ । तर यो बजेट पर्याप्त भने नभएको उनले बताए । गोरखा बजारबाट बसपार्क सम्मको करिब चार किलोमिटर सडक पिच गर्नुपर्ने, सडक फराकिलो बनाउनुपर्ने र बसपार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि करिब पाँच करोड बजेट चाहिने उनले बताए ।
सो बसपार्क यस अघि साविकको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको थियो । तर भवन डिभिजन कार्यालयले २०७५ सालमा बसपार्क निर्माण जिम्मा संघीय आयोजना कार्यान्वन इकाईलाई सुम्पिएको थियो ।
तीन तहका सरकार बनेपछि बसपार्क निर्माणको योजना संघीय सरकार मार्फत कार्यान्वयन हुने क्रममा संघीय आयोजना कार्यान्वयन इकाई कास्की मातहत निर्माण भएको हो । हाल बसपार्क निर्माणसँगै नयाँबजारमा निर्माणधिन सभाहल संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले हेर्दै आइरहेको छ ।
अहिले गोरखाको ग्रामिण सडकमा चल्ने यात्रुबाहक बस घ्याम्पेशाल टिकट काउन्टर, खोलखोलेका ग्यारेज आसपास पार्कीङ हुने गरेको छ । पक्की रुटमा चल्ने यात्रुबस यस अघि नयाँ बसपार्कमा पार्किङ हुन्थ्यो भने अहिले सडक छेउको खुल्ला ठाउँमा नयाँ बजार क्षेत्रमा पार्कीङ भएको देखिन्छ । माईक्रोबस भने सवारी धनीको घर अगाडी देखिन्छन् । गोरखा बजार क्षेत्रमा पार्कीङ ब्यवस्थित नहुँदा शैक्षिक भ्रमणको सिजनमा यहाँ आएका सवारी साधन ब्यवस्थापनमा समस्या हुने गरेको छ । सडक छेउमा पार्कीङ गराउँदा दुर्घटनाको जोखिम समेत बढ्ने टूाफिक प्रहरीले जनाएको छ ।




