
गोरखा नगरपालिका भित्रका पाँच वटा विद्यालयमा छात्रवृत्ति वितरण
गोरखा नगरपालिका भित्रका पाँच वटा सामुदायिक विद्यालयमा कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति वितरण गरेको छ । शिक्षाको गुणस्तरलाई बढाउन संस्थाले आइतबार एक कार्यक्रमका पाँच वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति वितरण गरेको हो ।
ग्रामीण बालबालिकाको शिक्षामा पहँुच अभिवृद्धि परियोजना अन्तर्गत दोस्रो चरणको छात्रवृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष साङ डोमा शेर्पाले बताइन् । छात्रवृत्ति परियोजना अन्तर्गत नगरपालिकाभित्रका बिन्दवासिनी मावि, बालमन्दिर मावि, महेन्द्र मावि, नवज्योति मावि र पृथ्वीनारायण आधारभूत विद्यालयमा अध्ययतरत बालबालिकाहरुलाई प्रदान गरिएको हो ।
पाँचवटा विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र नगद उपलब्ध गराउदैँ आएको उनले बताइन् । दोस्रो चरणको मंसिर देखि फागुनस महिना सम्मको छात्रवृत्ति वितरण गरिएको हो । ‘कक्षा दुईदेखि सातसम्म मासिक एक हजार, आठदेखि दश कक्षासम्म मासिक १५ सय र प्लस टु मा अध्ययनरत विद्यार्थीले मासिक २५ सय रुपैयाँका दरले छात्रवृत्ति पाउँछन्’ उनले भनिन्, ‘उक्त रकममा पनि २५ प्रतिशत स्टेशनरी सामग्री, २५ प्रतिशत नगद र ५० प्रतिशत उनीहरुको नाममा विद्यालयको कोषमा रकम जम्मा गरिदिन्छौँ । सो रकम उनीहरुले १२ पास गरेपछि मात्र निकाल्न सक्छन ।’
सामुदायिक विद्यालयमा कक्षा दुईदेखि १२ कक्षासम्म अध्ययनरत बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएको उनले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर, पढाई राम्रो भएका आधारमा विद्यार्थीको छनौट गरी छात्रवृत्ति दिने गरिएको संस्थाले जनाएको छ ।
ग्रामीण क्षेत्रका बालबालिकाहरु आर्थिक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नदिनका लागि सन् २०१६ देखि गोरखा नगरपालिकामा छात्रवृत्ति कार्यक्रम सुरु गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै, विन्दवासिनी मावि, बालमन्दिर मावि, नवज्योति माविमा पुस्तकालय परियोजना संचालन भइरहेको बताउँदै आइतबार सो विद्यालयहरुमा पुस्ताकालय व्यवस्सथापन समिति पनि गठन गरिएको परियोजनाले जनाएको छ ।




