
मकैको विहे, स्थापित संस्कृति
नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय समुदायको साझा थलो हो । अनेकतामा एकता नेपालको विशेषता हो । बहुरंगी फूलहरुको माला जस्तो नेपालको पहिचान भनेको नै बहुपहिचान हो ।
त्यस्तो कुनै गाउँबस्ती नेपालमा छैन, जहाँ मौलिक संस्कार, संस्कृति, मौलिक भेषभुषा छैन । हरठाउँमा नौला, रोचक संस्कार, संस्कृतिहरु प्रचलित छन् । एक ठाउँको संस्कार, संस्कृति अर्को ठाउँका लागि रोचक लाग्ने खालका छन् । यस्तैमध्यको एक हो, मकै विवाह ।
धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा मकै रोप्नुअघि मकैको बिहे गर्ने सदियौँदेखि प्रचलित संस्कृति हो ।
केही बर्षअघिसम्म यसबारे बाह्य समुदायमा जानकारी दिएन । सूचना तथा संचार प्रविधिको तीब्र फैलावटसंगै त्यहाँको यस्ता रोचक संस्कार, संस्कृतिले पनि फैलने अवसर पायो । अहिले धार्चेमा मकै बिहे हुन्छ भन्ने धेरैमा जानकारी छ ।
मकैको पनि बिहे गर्छन् कोही, भन्ने कतिपयले लाग्दो हो । कसैले यसलाई संस्कृति नभएर बिकृति मान्दाहुन् । तर्क आ(आफ्नै हुन्छ । यसलाई विशुद्ध रुपमा मौलिक संस्कार, संस्कृतिको रुपमा मान्नुपर्छ । एउटा गाउँ, समुदाय बन्न आवश्यक अवयव भनेको त्यहाँको संस्कार, संस्कृति पनि हो त्यसैले यो सान्दर्भिक छ ।
धार्चेका उहिया, दुङ्ला, खोर्ला, सिंला, लाप्राक, गुम्दा, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँहरुमा बोन्पोहरुको बसोबास छ । उनीहरु प्रकृति पुजक हुन् । मकैखेती पनि प्रकृतिसित सापेक्ष छ । मकैखेती राम्रो हुनका लागि असिनापानीबाट बचाउनु पर्छ ।
मकैबिहे गरेपछि असिनापानीले क्षति पु¥याउँदैन, रोगकिराले बिगार्दैन भन्ने मान्यता यस समुदायमा छ त्यसैले मकैको पूजासहितको विहे गर्ने परम्परा छ । संस्कार, संस्कृतिलाई विकृति हुन नदिई यसको संरक्षण र जगेर्ना गर्नुपर्छ ।




