| सोमवार, कार्तिक २३, २०८३

पशुपति मुरारकाको चुनढुंगाखानीले दर्शनडाँडा गाउँ धरापमा

शिव उप्रेती

ढुङ्गाखानी सञ्चालन गर्ने हो भन्ने १५ बर्षअघि नै थाहा पाएका भए गण्डकी गाउँपालिका ७ दर्शनडाँडाका झम्कनाथ रेग्मीले पशुपति मुरारकालाई बारी बेच्ने थिएनन् । ‘उनी आफै पनि आएका थिएनन् । धादिङका एकजनालाई पठाएका रहेछन् । जग्गा लेऊ, यहीँ घर बनाएर बस्छु, खेती किसानी गर्छु, पशु पालन गर्छु भन्नलागे’, ९७ बर्षका रेग्मी भन्छन्, ‘तर जग्गा पास गर्ने बेलामा पो पशुपति मुरारका भन्ने नयाँ मान्छे आए । लालपूर्जा उनकै नाममा बनाए ।’

३५ रोपनी बारी ८० हजार रुपैयाँमा राजिनामा पास गरिदिएको पाँच बर्ष नबित्दै मुरारकाले ढुंगाखानी सञ्चालन गर्न थाले । ‘बारी बेच्ने बेला आँखा देखिएन, अहिले आफ्नै घरबारी धराप भयो’, उनले भने, ‘तल ढुंगाखानीमा मेसिन लगाउँदा डाँडै थर्किएको छ । पाखो बारीका सबै गराहरु ‘आँ’ गरेर बसेका छन् । बर्खामा पानी बर्सिन थालेपछि डाँडै त्रिशुलीमा हाम्फाल्छ ।’ आउँदो बर्खामा कता बस्न जाने भन्नेमा गाउँले चिन्तित भएको उनले बताए ।

मुरारकाकाले अर्घाखाँची सिमेण्ट उद्योगका लागि त्यहाँ चुनढुंगाखानी सञ्चालनका लागि २०६३ सालको माघ ३ गते लाइसेन्स लिए । खानी विभागको ३५।०६३।६४ नम्बरको लाइसेन्सको १५ बर्षे म्याद गत माघ ३ गते समाप्त भएको छ । तर कम्पनीले चुनढुंगा निकाल्न छाडेन । ‘पहिले पनि जताततै चिरा परेको त थियो, तर याद गर्ने खालको थिएन’, अर्का स्थानीय नवराज रेग्मी भन्छन्, ‘यत्रो ठूलो चिरा पर्न थालेको एक महिना भयो । सुरुमा तीन अमल फराकिलो थियो । अहिले दिनदिने बढिरहेको छ । ह्वात्तै त्रिशुलीमाथि हाम्फाल्ला जस्तो भइसक्यो ।’ खानीका कारण स्थानीय सल्लेरी सामुदायिक वन, सडक, शिव आधारभूत विद्यालय र विद्यालयको खानेपानीको पाइपलाइन जोखिममा परेको उनको भनाइ छ ।

ज्यामिरघाटबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक कामै नलाग्ने गरी चिरिएको अर्का स्थानीय पूर्णप्रसाद रेग्मीको भनाइ छ । पटक पटक गरी करिब एक करोड रुपैयाँ खर्च गरेर निर्माण गरेको सो सडक चुनढुंगाखानीको पहिरोले तानेको उनले बताए ।
यहाँ पहिरिएपछि अर्को ठाउँमा सडक खन्न जग्गा नपाउने स्थानीको चिन्ता छ । ‘रोड खन्न भनेर जग्गा मागे । दुईठाउँमा दिएँ’, स्थानीय पूर्णप्रसाद रेग्मीले भने, ‘फेरि चिरियो भनेर अर्को ठाउँमा मागे भने दिनसकिन्न । एकफेर पो दिन सकिन्छ । पटक पटक कसरी दिन सकिन्छ र ?’

स्थानीयबासीलाई मुआव्जा दिएर स्थानान्तरण नगरी खानी चलाउन नपाइने स्थानीयबासीको माग छ । ‘हामीलाई यहाँको मुआव्जा दिएर अन्तै सारेपछि मात्र खानी चलाउन पाइन्छ नत्र पाइँदैन’, अर्का स्थानीय रुद्र रेग्मी भन्छन्, ‘पहिले पनि झुक्याएर किनेको हो । डाँडामा मेसिन लगाउन थालेपछि यस्तो धराप भयो । अब यहाँको जग्गा बेचेर अन्त जाम भने कसैले किन्दैन । पैसा हुनेहरु ज्यामिरघाटतिर सरे । हामी नसक्नेहरु यहीँ अड्किरहेका छौँ ।

हाम्रो समस्यालाई कसैले वास्ता गर्दैनन् ।’ गाउँ, विद्यालय, सडक, वन क्षेत्रमा क्षति पुगेपछि वडा कार्यालयले सो खानी बन्द गर्न पत्राचार गरेको वडाअध्यक्ष तुलसी रेग्मी बताउँछन् । ‘अहिलेलाई वडा कार्यालयले खानी बन्द गराएको छ’, उनले भने, ‘लाइसेन्सको म्याद पनि सकिएको छ । अब भूगर्भविदले विस्तृत अध्ययन नगरी लाइसेन्स नवीकरण गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्