
राजनीतिक पार्टीलाई चुनाव लाग्यो
सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने उद्घोष गरेको छ । निर्वाचन आयोगले यसअघिदेखि मिति तोक्न सरकारलाई अनुरोध गर्दै आएको थियो । सरकारले निर्णय गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीका लागि युद्धस्तरमा जुटेको छ ।
अहिले नेपालमा तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय स्तरमा । स्थानीय तहको सरकारलाई ‘स्थानीय सरकार’ भन्ने वा ‘स्थानीय तह’ मात्र भन्ने ? प्रश्न उठिरहेको छ तथापि अहिलेलाई स्थानीय सरकार भन्नु असान्दर्भिक हुँदैन । स्थानीय तह एउटा संरचना हो, स्थानीय तह सञ्चालन गर्ने स्थानीय सरकार नै हो भन्न असजिलो छैन । यद्यपि स्थानीय सरकार कथ्य भाषामा मात्र प्रचलित छ, मानकीकृत गरिसकिएको छैन ।
जे नामले पुकारे पनि स्थानीय सरकारको उपस्थिति, काम, कर्तव्य र अधिकार अति नै प्रभावशाली छ । नयाँ संरचनाको रुपमा देखिएको प्रदेश सरकारले त्यत्ति लोकप्रियता कमाउन सकेको छैन, तर स्थानीय तहको सरकारले जनमनमा मिठो छाप पारेको छ ।
स्थानीय सरकारको कार्यशैलि नेतृत्व गर्ने व्यक्तिपिच्छे फरक पर्नु स्वभाविकै हो तर उसको काम, कर्तव्य र अधिकार क्षेत्र धेरै प्रभावकारी छ । घरघर, दैलोदैलो पुग्ने नै स्थानीय पालिकाका सरकार हुन् । स्थानीय स्तरमा परेका दुख, समस्या भेट्न पुग्ने नै स्थानीय तहको सरकार हो । ग्रामीक्षण क्षेत्र डुलेर त्यहाँको आवश्यकता, माग संकलन गर्ने पालिकाको अबस्था हेरेर माग सम्बोधन गर्न पनि सकिने अधिकार पालिका सरकारस्ति छ ।
त्यसैले स्थानीय तहमा ज्यादै समझदार, अध्ययनशील, विवेकी, नेतत्व सीप र खुवी भएको व्यक्तिलाई जिताउनु पर्छ ।
अहिले विभिन्न पार्टीहरु चुनावी कार्यक्रममा उत्रिसकेको बुझिन्छ । बाँकी अन्य पार्टीहरुले पनि अब चुनावी कार्यक्रमको बामे सर्दै जानु ठिक हो ।




