
स्वास्थ्य बिमा गर्नेहरुलाई रु एक करोड १८ लाखको उपचार, ६० लाख मात्रै प्राप्त
गोरखा अस्पतालले गत साउनदेखि माघसम्म स्वास्थ्य बिमा गरेकाहरुलाई एककरोड १८ लाख रुपैयाँ बरावरको उपचार सेवा दिएको छ । उक्त रकममध्ये अहिलेसम्म ६० लाख रुपैयाँमात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए ।
‘बिमितहरुलाई सेवा दिए बापतको रकम स्वास्थ्य बिमा बोर्डले पठाउन ढिला गर्दा समस्या भएको छ’, उनले भने, ‘समितिले राखेका कर्मचारीलाई तलब भत्ता, औषधी खरिद, ल्याब केमिकल, भत्ताहरु दिन सकेका छैनौँ ।
’ अस्पतालमा समिति मार्फत राखिएका २० जना कर्मचारीको खर्च मासिक चार लाख ५० हजार छ । अस्पतालले बिमितको उपचार गरे बापतको रकम छिटो पठाइदिन स्वास्थ्य बिमा बोर्डलाई पत्राचार पनि गरेको छ ।
‘केहीदिन अघि पनि पत्राचार गरेका छौँ’, मेसु श्रेष्ठले भने ।
स्वास्थ्य बिमा गरेका ब्यक्ति अस्पतालमा सेवा लिन जाँदा टिकट, चेकजाँच, औषधी, शल्यक्रिया, ल्याब लगायत बिमा रकमले पुग्ने सम्म निशुल्क हुन्छ ।
‘हामीले बिमा कार्ड हेर्छौँ र त्यहाँ उपचार रकम बाँकी रहेछ भने रेकर्ड लिएर सबै सेवा निशुल्क दिन्छौँ’, गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने, ‘भर्ना भएका बिरामीको डिस्चार्ज भएपछि बिमा दावी गर्छौँ भने तत्काल सेवा लिन आएकाहरुको सोही दिन दाबी गर्छौँ ।’ स्वास्थ्य बिमा बोर्डले अनलाईनमार्फत बिमा रकम दावी गर्न मिल्ने ब्यवस्था गरेको छ ।
स्वास्थ्य बिमा बोर्ड गोरखाका प्रमुख बिशाल लौडारीले बिमाको दावी भुक्तानी केन्द्रिय कार्यालयबाट हुने बताउँदै भने ‘केहीदिन अघि लेखाका कर्मचारीको सरुवा भएकाले ढिलो भएको हुन सक्छ ।’ बोर्डले मासिक रुपमा दावी रकम प्रमाणित ठहरिएमा भुक्तानी दिने ब्यवस्था गरेको छ । तर अहिले भने महिनौँ बितिसक्दा समेत गोरखा अस्पतालले दावी गरेको बिमा रकम भुक्तानी भएको छैन ।
गोरखामा अहिले ७० हजार चार सय छ जनाले स्वास्थ्य बिमा गराएका छन् । पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेर पुरै परिवारको बिमा गराउन सक्ने ब्यवस्था छ । बिमा दावी गर्न सेवा लिने नलिने सबैले वार्षिक नबिकरण गर्नुपर्छ ।




