
आरुघाट गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण
गोरखाको आरुघाट गाउँपालिको सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरेको छ । सामाजिक सुरक्षा रकम पाउन योग्य तीन हजार चार सय २७ जनालाई तीन करोड २४ लाख पाँच हजार पाँच सय ९६ रुपैयाँ गाउँपालिकाले बैंकमा जम्मा गरिदिएको हो ।
‘यस अघि पनि हामीले केही वडामा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरेका थियौँ’ प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले भने ‘यो त्रैमासिकबाट अब सबै वडाका सामाजिक सुरक्षा रकम पाउन योग्य सबैको बैंक खातामा पैसा जम्मा भएको छ ।’
गाउँपालिकाले सुचना जारी गरेर कुन वडाको सामाजिक सुरक्षा भत्ता कुन बैंकबाट लिन सकिने भन्ने जानकारी पनि दिएको छ । वडा नम्बर १, २, ७ र ८ को सिभिल बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुनेछ । वडा नम्बर ३ र ४ को कृषि बिकास बैंक, ५ र ६ को एनएमबी बैंक, वडा नम्बर ९ र १० को राष्टिूय बाणिज्य बैंक मार्फत सामाजिक सुरक्षा रकम निकासा भएको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए । अब बैंक गएर संम्बन्धी ब्यक्तिले आफ्नो खातामा जम्मा भएको रकम लिन सक्नेछन् । यी बैंक आरुघाट गाउँपालिका भित्रै सेवा दिइरहेको बैंक हुन् ।
त्रैमासिक रुपमा सामाजिक सुरक्षा बापत तीन करोड भन्दा बढि रकम निकासा हुने गरेको गाउँपालिका पञ्जिकरण शाखाका नबराज खनालले बताए । जस अन्तर्गत ७० वर्ष माथिका जेष्ठ नागरिकको संख्या एक हजार आठ सय ८३ छ । जेष्ठ नागरिक दलित दुई सय २४ जना, जेष्ठ नागरिक एकल महिला तीन सय २५ जना, विधवा तीन सय ९९ जना, ‘क’ बर्गको अपाङ्गता भएका ७७ जना, ‘ख’ बर्गको अपाङ्गता भएका एक सय ६८ जना, दलित बालवालिका तीन सय ५१ जना छन् ।
गाउँपालिकाले बैंकहरुलाई सबै वडाका बिभिन्न ठाउँमा शिविर पठाएर सामाजिक सुरक्षा पाउन योग्यहरुको खाता खोलेको थियो । सर्वसाधारणलाई बैंक सम्म आउनुपर्ने झन्झट नभएको, सबैले बैंक खाता खोलेकाले रकम जम्मा गर्न सजिलो भएको उनले बताए । बैंकहरुले कार्यालय समय बाहेक भुक्तानी क्याम्प संचालन गरेर सेवा दिने प्रयास गर्ने बताएका छन् ।
स्थानीय तहहरुले तीन÷तीन महिनामा सरकारले तोके अनुसारको सामाजिक सुरक्षा भत्ता आफ्नो पालिका भित्र बितरण गर्दै आएका छन् । ग्रामिण भेग भएका कारण सामाजिक सुरक्षा भत्ता सबै बैंकको दायरामा ल्याउन सहज नभएको जनप्रतिनिधी बताउँछन् । अझै पनि कतिपय पालिकाले हातहातै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरेका छन् ।




