| सोमवार, कार्तिक २३, २०८३

निर्वाचनको मिति घोषणासँगै गोरखामा मतदाता नामावली संकलन रोकियो


जिल्ला निर्वाचन कार्यालय गोरखाले मतदाता नामावली संकलन कार्य रोकेको छ । सरकारले सोमवार स्थानीय तहको निर्वाचनको मिति घोषण गरेसँगै मतदाता नामावली संकलन रोकिएको हो ।


जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय सिर्दिबासबाट मतदाता नामावली संकलन भइरहेको थियो । केही दिनयता जिल्ला निर्वाचन कार्यालय गोरखामा नाम दर्ता गर्ने र स्थानान्तरण गर्नेहरुको लर्को थियो । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलनको काम रोकिने निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइरालाले बताए । ‘ऐन नियममै चुनाव घोषणा भएपछि दर्ताको काम रोकिन्छ’, उनले भने ।


निर्वाचन कार्यालयले यसअघि संकलन गरेको मतदाता नामावलीको प्रशोधन कार्यमा लाग्नेछ । अहिले दर्ता भएका नामावलीको प्रशोधन गर्ने, स्थानान्तरणका लागि पेश भएकाहरुको फाईल रुजु गर्नेतर्फ केन्द्रित हुने उनले बताए । २०७७ पुस ५ गतेसम्म गोरखामा एक लाख ९९ हजार सात ८१ मतदाता थिए । त्यसयता कति मतदाता थपिए भन्ने यकिन छैन । ‘निर्वाचन कार्यालयबाट आयोगमा पठाउँछौँ’ कार्यालय प्रमुख कोईरालाले भने, ‘आयोगबाट प्रमाणिकरण भएर आएपछि अहिलेसम्म दर्ता भएका मतदाता संख्या थाहा हुनेछ ।’


केही दिनयता निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेको भिड बढेको थियो । सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्न सक्ने भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरु बढेका थिए । एक महिना यता दैनिक ५० देखि एक सय हाराहारी नाम दर्ता गराउन पुगेका थिए । अब निर्वाचन कार्यालय नामावली प्रशोधन, मतदाता शिक्षा लगायतका काममा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्