
रोटरी क्लव अफ गोरखाको भवन सिलान्यास
रोटरी क्लव अफ गोरखाको भवन सिलान्यास गरिएको छ । करिब एक करोड रुपैयाँको लागतमा गोरखा नगरपालिका ८ प्रतिक्षालय चोकमा बन्न लागेको भवनको आइतबार सिलान्यास गरिएको भवन निर्माण समितिका संयोजक कृष्ण ढकालले बताए ।
श्रीपञ्चमीको अवसरमा आयोजित जगपूजा कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भवनको सिलान्यास गरेका हुन् । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले नगरपालिकाले भवन निर्माण सम्पन्न गर्न थप सहयोग गर्दै जाने बताए । ‘यो सामाजिक काम हो, हामीले संघ संस्थालाई स्थापित गर्न, सामाजिक काम गर्नमा प्रोत्साहन गर्न सहयोग गर्ने गरेका छौँ’ उनले भने ।
‘अहिले गोरखा नगरपालिकाबाट १० लाख बिनियोजन भएको छ’, भवन निर्माण समितिका अध्यक्ष ढकालले भने, ‘हामी रोटरीयन र अन्य सहयोगीहरुबाट १० लाख जुटाउने तयारीमा छौँ ।’ बाँकी बजेट जुटाउँदै एक वर्ष भित्र भवन निर्माण सक्ने योजना रहेको उनले बताए । उक्त भवन सचिवालय संचालनका लागि निर्माण गर्न लागिएको हो । भवन साँढे दुई तलाको हुनेछ ।
भवन नहुँदा रोटरी क्लवले आफ्नो नियमित बैठक, अन्य गतिविधि होटलबाट संचालन गर्नुपर्ने बाध्यता छ । भवन निर्माण भएपछि सेवाका काम गर्न अझै सहज हुने रोटरी क्लवका अध्यक्ष बिशाल रानाले बताए । सबैको सहयोगबाट भवन निर्माण पूरा गर्न सकिने बताउँदै उनले सामाजिक उत्तरदायित्वको काममा एकजुट हुनपर्नेमा जोड दिए । भवन निर्माणका लागि चार्टर प्रेसिडेन्ट सितलकाजी मास्केले एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले नगद ५० हजार रुपैयाँ सिलान्यासको अवसर पारेर आइतवार दिइसकेको छन् । सन् २००३ मा गोरखामा रोटरी क्लव स्थापना भएको हो । उक्त क्लवमा अहिले ४२ जना सदस्य छन् ।




