| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

गोरखा नगरपालिकाको न्यायिक समितिमा हालसम्म सबै भन्दा धेरै जग्गा भोगचलन सम्बन्धी उजुरी परेको छ । चालु आर्थिक वर्ष १८ वटा उजुरी दर्ता भएकामध्य नौ वटा उजुरी जग्गा भोगचलन सम्बन्धी उजुरी दर्ता भएको न्यायिक समितिका संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् ।
यस्तै, घरभाडा तथा लेनदेन सम्बन्धमा, रकम लेनदेन सम्बन्धमा र लालनपालन खर्च भराई पाऊँ सम्बन्धी दुई÷दुई वटा उजुरी दर्ता भएको श्रेष्ठले जानकारी दिइन् । सम्बन्ध कायम गराई पाउँ, निर्माण कार्य रोक्का लगायत गरी तीन वटा उजुरी दर्ता भएको नगरपालिकाले जनाएको छ ।
गत वर्षको जिम्मेवारी सरेको १८ वटा उजुरी गरी हाल उजुरी दर्ता संखया ३६ रहेको उनले जानकारी दिइन् । यीमध्य एक मिलापत्र भएको र १४ वटा उजुरी निरुपण गरिएको उनले बताए । त्यस्तै, पाँच वटा उजुरी सहमति कायम भएको र १३ वटा उजुरी प्रक्रियामा रहेको समितिका संयोजक श्रेष्ठले जानकारी दिइन् । तीन वटा उजुरी भने अन्यत्र पठाएको उनले बताइन् ।


प्रहरी कार्यालय नजिक भएकाले पनि नगरपालिकाको न्यायिक समितिमा उजुरी कम परेको उनले बताइन् । न्यायिक समितिअन्तर्गत गोरखा नगरपालिकाको १४ वटै वडामा तीन÷तीन जना मेलमिलापकर्ताहरु खटिएका छन् । मेलमिलापकर्ताहरुले नसके न्यायिक समिति संयोजकमार्फत उजुरीको सम्बोधन गरिने उनले बताइन् ।


आफ्नो अधिकार क्षेत्रबाहेकका उजुरी आएमा सम्बन्धित ठाउँमा पठाउने गरेको उनको भनाइ छ । गोरखा नगरपालिका न्यायिक समिति कार्यविधि (ऐन) २०७४ मा व्यवस्था भए अनुसार विवादका पक्षहरुको साझा हित र चाहानाअनुसार न्याय सम्पादन गरिदै आएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्