
छ महिनामा चितुवाले ३३९ वटा घरपालुवा पशुचौपाया मार्यो : ३० लाख भन्दा बढी क्षतिपूर्ति वितरण
केशव गुरुङ
गोरखामा चालु आर्थिक वर्षको हालसम्म चितुवाको आक्रमणबाट तीनसय भन्दा धेरै पशुचौपाया मारिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाका अनुसार चालु वर्षको छ महिनाको अवधिमा चितुवा आक्रमणबाट तीनसय ३९ वटा घरेलु पशुचौपायाको मारिएको जनाएको छ ।
आक्रमण परी क्षति पुगेका तीन सय ३९ पशुधन र तीन जना मानिसलाई गरी ३० लाख ८९ हजार पाँच सय ५५ रुपैयाँ क्षतिपूर्ति बितरण गरिएको कार्यालयका सम्पर्क अधिकृत पशुपति अधिकारीले बताए । हालसम्म कति खसी, बोका, गाई, बाच्छाबाच्छी, पाठापाठी मारिए भनेर क्षति आउन बाँकी रहेको उनले बताए ।
बन्यजन्तुबाट घरपालुवा जनावारमा क्षति सबै डिभिजन वन कार्यालयमा आउने र वन कार्यालयबाट मनास्लु संरक्षण क्षेत्रमा एकमुष्ठ रुपमा पठाउने गरेकाले हालसम्म कति बाख्रा, गाई, बङ्गुर मारिए भन्ने यकिन तथ्यांक नभएको कार्यालयले जनाएको छ । केहीदिन अघिमात्र वन कार्यालयबाट एकसय वटा निवेदन प्राप्त भएको र उनीहरुलाई क्षतिपूर्ति वितरण गर्न बाँकी रहेको समेत अधिकारीले जानकारी दिए ।
पछिल्लो सयममा चितुवाको आक्रमणबाट घरपालुवा जनावरको क्षति हुने क्रम बढ्दै गएको कार्यालयका तथ्यांकमा उल्लेख छ ।
आर्थिकवर्ष ०७५÷०७६ मा ९ लाख ३३ हजार एकसयरुपैयाँ क्षतिपूर्ति बिरतण गरेको कार्यालयले आव ०७६(०७७ मा ३३ लाख ७५ हजार बितरण गरेको थियो । तर २०७७÷०७८ मा दोब्बर बढेर ६६ लाख ७८ हजार दुईसय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा चितुवाले ४६७ घर परिवारको ६२२ वटा पशु चौपायालाई आक्रमण गरी मारेको थियो ।
जिल्लामा सबैभन्दा बढि गोरखा नगरपालिकामा चितुवाको आक्रमणमा परेका छन् । त्यस्तै गरी भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा पशुहरु चितुवाको आक्रमणमा परेका छन् । चितुवाको आक्रमणमा सबै भन्दा बढी बाख्राहरु पर्ने गरेको छ । जंगलमा चराउन लगेको बेला वा घरमा नै खोरमा राखेको बेला पनि चितुवाले आक्रमण गर्ने गरेको सम्पर्क कार्यालयले जनाएको छ ।
संख्यात्मक हिसाबमा घरपालुवा पशुचौपाया चितुवाको आक्रमण धेरै परेको देखिएता पनि क्षतिपूर्ती पाउने बिषयमा धेरै किसानले जानकारी नपाएको र पाएकाहरुले पनि प्रक्रिया झन्झटिलो र डिभिजन वन कार्यालयलले सिफारिस बनाउन ढिला सुस्ती गरेका कारण क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन् ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाकाअनुसार बाघ, हात्ती, गैंडा, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर मानिस, घरपालुवा पशु वा गोठमा क्षति पु¥याएको खण्डमा पिडितले क्षतिपूर्ति पाउने ब्यवस्था गरेको छ ।
पशु धनको क्षति अन्तरर्गत वयस्क भैँसी वा जोत्ने उमेरको राँगो वा गोरु वा उन्नत जातको गाई वा साँढेको मृत्यु भएमा रु ३० हजार, अन्य पशुको लागि बस्तुभाउको प्रकार हेरी प्राप्त कागजात र सिफारिसका आधारमा बढीमा १० हजारसम्म क्षतिपूर्ति दिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै गरी घर गोठको क्षति भएमा, अन्न बालीको क्षति भएमा, घरमा भण्डारण गरेको राखेको अन्नबालीमा क्षति पु¥याएको खण्डमा बढीमा १० हजारसम्म क्षतिपूर्ति पाउनेछन् ।
क्षतिपूर्ति पाउनका लागि स्थानीयहरुले सम्बन्धित घटनाको फोटो, व्यक्तिगत निवेदन, वडाको सिफारिस, गाउँपालिका पशु चिकित्सकबाट मुल्याङ्कनको सिफारिस पत्र, इलाका वन कार्यालयको सिफारिस र सम्बन्धित सामुदायिक वनको सिफारिस चाहिने कार्यालयले जनाएको छ । सबै निवेदन वन कार्यालयले संकलन गर्ने र क्षर्तिपूर्ति वितरणका लागि वनबाट एकमुष्ठमा निवेदनहरु मनास्लु संरक्षण आयोजना कार्यालयमा पठाउने गरेको कार्यालयले जनाएको छ ।




