
निर्वाचन क्षेत्र रणनीतिक सडकको अध्ययन सुरु : सहायक राजमार्ग ठेक्काको चरणमा
निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत गोरखामा दुईवटा सडकको अध्ययन सुरु भएको छ । गोरखा क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका ५ दर्बुङफाँटदेखि लाकुरीबोट हुँदै दलभञ्ज्यांङ सम्मको सडक ठेक्काको प्रक्रियामा छ । क्षेत्र नम्बर २ अन्तर्गत घ्याम्पेशालदेखि ताकुकोट, हुँडीखोला, स्वाँरा सौरपानी रनचोक पोखरी हुँदै बारपाक सडक रणनीतिक सडकमा समेटिएको छ ।
‘यी दुबै सडकको डिपिआर भईसक्यो’, ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञावलीले भने, ‘चालुवर्षभित्र ठेक्का लगाउने तयारीमा छौँ ।’ एक करोड २० लाखका दरले दुबै सडकको काम सुरु गर्न बजेट बिनियोजन भएको उनले बताए ।
‘सडक निर्माण गर्ने र स्तरोन्नतीको काम हुनेछ’ आयोजना प्रमुख ज्ञवालीले भने ‘एउटा सडकको लागत ४० करोड हो ।’
तीन वर्षमा सक्ने गरी योजना तय भएको उनले बताए । ‘ठेक्का लगाएपछि बजेट अभाव हुँदैन, अहिले काम सुरु गर्ने मात्रै बजेट छ’ उनले भने । अहिले यी दुईवटा सडकको ठेक्का लगाउने तयारीमा रहेको उनले बताए । यो नेपाल सरकारले आन्तरिक ऋण लगानीमा निर्माण गर्न लागेको हो ।
बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्र्तगत पाँचवटा पुल तथा सडक निर्माणको ठेक्का लगाउने अन्तिम चरणमा कार्यालय पुगेको छ । फिनामटार चैनपुर भच्चेक सडकका लागि दुई करोड बजेट बिनियोजन भएको छ । पालुङटार हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी ४ मुच्चोक, सिम्जुङ सडकका लागि चारकरोड बजेट छुट्याइएको छ । गोरखा बिमलनगर पौवाटार, ठाँटीपोखरी केराबारी दूधपोखरी सडकको लागि सात करोड बजेट बिनियोजना भएको सडक कार्यालयका प्रमुख ज्ञवालीले बताए ।
फलामे अबण्डा बिरुवाटार पालुङटार नगरपालिका ७ को लागि एक करोड र धावा, कोया भञ्ज्याङ, भिमसेन थापा ४ र २ जोड्ने सडकको लागि तीन करोड छुट्याइएको छ ।
बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्र्तगत यी पाँचवटा योजनामा १७ करोड बजेट बिनियोजन भएको छ । ‘यी आयोजनाहरु चालु वर्ष नै कार्यन्वयनमा लैजानुपर्छ’, आयोजना कार्यालयका प्रमुख ज्ञवालीले भने, ‘प्रक्रिया अघि बढिसकेको छ ।’




