| सोमवार, कार्तिक २३, २०८३

नेकपा(माओवादी केन्द्र)को पालुङ्टार नगर कमिटीले अझै पूर्णता पाएन


नेकपा(माओवादी केन्द्र) पालुङटार नगरकमिटीको पदाधिकारी अहिलेसम्म चयन भएको छैन । ६५ सदस्यीय सदस्य चयन भएको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन हुन नसकेको हो ।


नगर कमिटीको अधिवेशन गत मंसीर ११ गते सुरु भई पहिलो चरणको निर्वाचन प्रक्रिया अन्तर्गत ६५ सदस्यीय सदस्य चयन प्रक्रिया टुंगिएको थियो । तर अध्यक्ष पदमा आकांक्षी धेरै भएको र एकजनामा सहमति जुट्न नसकेपछि स्थगित भएको अधिवेशनले अहिलेसम्म फेरि आयोजना नगरिएको नगर अधिवेशन आयोजक कमिटीका सदस्य रामचन्द्र सेढाईँले जानकारी दिए ।


‘त्यतिबेला प्राविधिक कारणले स्थगित भएको थियो । त्यसपछि प्रदेश अधिवेशनतिर व्यस्त भइयो । फेरि केन्द्रीय अधिवेशनतिर लाग्नु प¥यो । त्यसपछि त कोभिडले रोकिहाल्यो’, उनले भने, ‘आन्तरिक गृहकार्य भइरहेको छ । अब छिट्टै माघभित्रै वा फागुन लाग्नासाथ पदाधिकारीले पनि पूर्णता पाउँछ ।’


अध्यक्ष पदमा चार जना आकांक्षी थिए । विवश चिन्तन(अजय), मदन देवकोटा, विकास वाग्ले र दुर्गा श्रेष्ठले अध्यक्षमा आकांक्षा राखेका थिए । चारजनाबाट दुईजनामा सहमति भएपनि एकजनामा सहमति जुट्न नसकेको अधिवेशन आयोजक कमिटीले जनाएको छ ।
जिल्लाका अन्य १० वटै पालिकास्तरमा भने अधिवेशन सम्पन्न भई कमिटीले पूर्णता पाइसकेको छ ।


नेकपा (माओवादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापाले पनि कोभिडका कारण समितिलाई पूर्णता दिन नसकेको भन्दै फागुनको पहिलो सातामा नगर कमिटीले पूर्णता पाउने जनाए । ‘अहिले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी नियम उल्लंघन गर्नु पनि भएन’, उनले भने, ‘नगरकमिटी गठन गर्नुभन्दा पहिले फागुनमा केन्द्रीय कमिटीको वैठक र प्रदेश कमिटीको वैठक हुन्छ । त्यसपछि स्थगित भएको पालुङ्टार नगरपालिकाको कमिटी गठन गर्ने योजना बनाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्