
बुटारमा नेपालकै पहिलो ‘ड्याम टु टर्वाइन’ प्रविधियुक्त जलविद्युत आयोजना बन्दै
गोरखाको गण्डकी गाउँपालिका १ बुटारमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाईन’ प्रविधिको जलविद्युत आयोजना निर्माण हुने भएको छ । ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा एकसय मेगावाटको आयोजना निर्माण गर्न लागेको हो ।
‘हामीले आयोजनाको निर्माण सुरु गर्नुअघि गर्नुपर्ने डिपिआर, ईआई, पिपिए (आयोजना सुरु गर्नु अघिको प्राविधिक नापजाँचको प्रक्रिया) सबै गरिसक्यौँ’, हाईडूो कम्पनीका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘अब बेलिब्रिज बनेपछि निर्माणको काम थाल्नेछौँ ।’ उपकरण ओसार्नका लागि बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको उनले बताए ।
नेपालमै नयाँ प्रविधिको पहिलो आयोजना भएको दावी गर्दै उनले कम लागतमा निर्माण हुने बताएका छन् । ‘एकसय मेगावाटको आयोजना जम्मा १६ अर्व नेपाली रुपैयाँमा यो निर्माण सक्ने लक्ष्य छ’, उनले भने ‘नेपालमा चलन चल्तीमा आएका अन्य आयोजना हुन्थ्यो भने यो क्षमताको आयोजना बन्न करिब २० देखि २५ अर्ब लाग्थ्यो ।’ चिनियाँ हुवावे कम्पनीले उक्त आयोजना निर्माण गर्ने जिम्मा लिएको छ ।
ड्यामबाट सिधै टर्वाईनमा पानी खसालेर विद्युत उत्पादन गर्ने प्रविधि ‘ड्याम टु टर्वाईन’ प्रविधि हो ।
पानी जम्मा हुने ड्यामबाट ६५ मिटर दुरीमा पावरहाउस बन्नेछ । पानी सिधै टर्वाइनमा पठाईने भएकाले पानी पठाउन सुरुङ, पाईपलाईन आवश्यकता पर्दैन । ‘पानी जहाँबाट संकलन गरिन्छ, त्यहाँ नै पुन पावरहाउबाट झर्छ’ आयोजनाका प्रमुख रेग्मीले भने । यो प्रविधिमा तयार गर्दा पानी नभएर सुख्खा हुने क्षेत्र हुँदैन । अहिले नेपालमा बनेका अन्य आयोजनाको भने पाईपलाईनबाट लामो दुरीसम्म पानी लैजाँदा पावरहाउस सम्मको क्षेत्र सुख्खा हुने गर्छ । त्रिशुलीमा बन्न लागेको अयोजनाको पाइपलाईन बिछ्याउनु नपर्ने भएकाले बातावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुने दावी निर्माण कम्पनीको छ ।
पाँचवर्षभित्र सिध्याउने गरी निर्माण सुरु हुन लागेको आयोजनाले जनाएको छ । त्यहाँ उत्पादित विद्युत तनहूँको मार्किचोकस्थित सबस्टेशनमा जोडी नेपाल विद्युत प्राधिकरणको राष्टिूय प्रशारण लाईनमा समावेश गरिनेछ ।
पानी जम्मा हुने बाँधको १४ दशमलव ५ मिटर उचाई हुनेछ भने ९२ मिटर लम्बाई हुनेछ । यसका लागि आयोजनाले ४० रोपनी जग्गा खरिद गरिसकेको छ भने डुबानमा पर्ने र पावरहाउस निर्माणका लागि अझै करिब २० रोपनी खरिद गर्ने प्रक्रिया रहेको छ ।
गोरखा र चितवनको सिमाना त्रिशुली नदीमा बन्ने आयोजनाको ड्याम र पावरहाउस भने गोरखातर्फ रहनेछ । पृथ्वी राजमार्गको छेवैमा बन्न लागेको उक्त आयोजना नेपालमै परीक्षण आयोजनाको रुपमा पनि रहने दावी निर्माण कम्पनीको छ ।




