| सोमवार, कार्तिक २३, २०८३

चेपाङ संग्रहालय निर्माणको काम तीनबर्षदेखि डिपिसीमै सीमित

गण्डकी गाउँपालिका ६ तोमनडाँडामा सुरु गरिएको चेपाङ संग्रहालय निर्माणको काम बिगत तीन बर्षदेखि अवरुद्ध भएको छ । २०७५ सालमा डिपिसी ढलान गरी पिलर उभ्याएर राखिएको संग्रहालयको काम त्यसपपछि अघि बढ्न नसकेको नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष भीमलाल चेपाङले जानकारी दिए ।


आर्थिक अभावका कारण संग्रहालय निर्माणको काम अघि बढ्न नसकेको हो । ‘गण्डकी गाउँपालिकाले २०७५ सालमा चेपाङ संग्रहालय निर्माणका लागि पाँचलाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसले डिपिसी ढलान गरियो’, चेपाङले भने, ‘त्यसपछि कुनै निकायबाट पनि बजेट पाउन सकिएन त्यसैले डिपिसीमै काम अड्किएर बसेको छ ।’ आफ्नो संग्रहालय निर्माण भएको हेर्ने चेपाङ समुदायको रहर डिपिसीमै सीमित भएको उनको भनाइ छ ।


तोमनडाँडा माध्यमिक विद्यालयसंगै चेपाङ संघको नाममा ३ रोपनी जग्गा छ । त्यहीँ संग्रहालय बनाउने संघको योजना थियो ।
सो क्रममा गण्डकी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुसँग छलफल गरिएको उनले बताए । गण्डकी गाउँपालिकाको वडा नम्वर १, २, ६ र ७ मा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । नेपालभर करीव ६८ हजार चेपाङ जनसंख्या रहेकोमध्ये गोरखामा तीनहजार दुईसय भन्दा धेरै जनाको बसोबास रहेको अध्यक्ष चेपाङले जानकारी दिए ।


संग्रहालयमा ती समुदायको साँस्कृतिक पहिचान झल्कने सामग्री राखिने उनको भनाई छ । ‘हिँजोआज हाम्रो समुदायको जीवनशैली पनि फेरिएको छ । विश्वभर बर्चस्व कायम गरेको पश्चिमी संस्कृतिको प्रभाव चेपाङ समुदायमा पनि छ’, चेपाङ संग्रहालय स्थापनाको उदेश्यबारे उनले भने, ‘पुराना भेषभुषा लोप भएका छन् । साँस्कृतिक, सामाजिक र आर्थिक हिसावले चेपाङ समुदायको अस्तित्व रक्षाका लागि पनि संग्रहालय जरुरी रहेको छ ।’


अति सीमान्तकृत समुदायको रुपमा चिनिने चेपाङ समुदायको संकृति भावी पुस्तालाई जानकारी दिने उद्देश्यले चेपाङ संग्रहालय निर्माण गर्न लागिएको तोमनडाँडा माविका शिक्षक बेदबहादुर चेपाङ बताउँछन् । ‘चेपाङहरुको पहिचान झल्कने सबै सामग्री राख्छौं’, उनी भन्छन्, ‘त्यहाँ पुग्दा चेपाङ समुदायको पुरानो झल्को आओस् ।’


खोरिया फाँडेर खाने चेपाङ समुदायको जीवनशैलि अन्य सर्वसाधारणको भन्दा केही फरक छ । ‘अरु समुदायको तुलनामा हामी धेरै पछि छौं’, उनले भने, ‘त्यसैले सम्भव भएसम्म त्यतिबेलादेखिको सामग्री जुटाउने प्रयास गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्