
संग्रहालयमा आगन्तुक घटे
केही समययता बढ्दो क्रममा रहेको गोरखा संग्रहालय अवलोकनकर्ता कोभिड प्रभाव सुरु भएसँगै फेरि घट्न थालेका छन् । ।
साउनदेखि पुसमसान्तसम्ममा ३७ हजार आठ सय ३७ जनाले संग्रहालय अवलकोन गरेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । छ महिनामा १८ हजार नौ सय ४५ जना विद्यार्थीले संग्रहालय अवलोकन गरेका छन् ।
१८ हजार आठ सय १३ जना नेपाली, सार्क राष्ट्रका १७ जना र अन्य मुलुकका ६२ जना विदेशी पर्यटकले संग्रहालय भ्रमण गरेको उनले जानकारी दिए । यो वर्षको मंसीर महिनामा १४ हजार नौ सय ५२ र पुस महिनामा ११ हजार दुई ७८ जना पर्यटकले संग्रहालय अवलोकन गरेको संग्रहालले जनाएको छ ।
चालु वर्षको छ महिनामा आन्तरिक तथा विदेशी पर्यटकबाट सात लाख राजस्व संकलन भएको संग्रहालयले जनाएको छ ।
नेपाल एकिकरण गोरखाबाट सुरु भएको र त्यसको नेतृत्व पृथ्वीनारायण शाहले गरेको इतिहास बुझ्न शैक्षिक भ्रमणको सिजनमा गोरखामा अन्यत्रबाट आउनेहरुको भिड लाग्छ ।
आन्तरिक पर्यटकलाई बढाउन सातै बार र सार्वजनिक विदाको दिनमा पनि संग्रहालय खुल्ला गर्ने निर्ण भएपनि कोरोनाको प्रभावले केही समय अघि बन्द भएको थियो । मंसिर र पुसको तुलनामा माघ लागेपछि संग्रहालयमा आगन्तुक घटेका छन् । कोभिड १९ को संक्रमण ब्यापक हुँदै गएपछि संग्रहालयमा चहलपहल कम हुँदै गएको हो ।




