
जनसंख्या घट्नु परिवार नियोजन कार्यक्रमको उपलब्धी
लगातार जनसंख्या घटिरहेको तथ्यांकलाई २०७८ को जनगणनाले निरन्तरता दियो । गोरखा नगरपालिका र धार्चे गाउँपालिकाबाहेक गोरखाका नौवटै पालिकामा जनसंख्या घटेको हो । गोरखा नगरपालिका सदरमुकाम भएकाले झण्डै तीनहजार र धार्चे गाउँपालिकामा करिब एकहजार जनसंख्या बढेको छ । अन्य सबै पालिकामा जनसंख्या घटेको छ ।
जन्मदर घटेको र बसाइँसराई दर बढेका कारण कूल जनसंख्या घटेको हो । अहिलेको तथ्यांकले एउटा परिबारमा झण्डै तीनजना मात्र सदस्य रहेको देखिन्छ । बदलिँदो समयसंगै एउटा सन्तान जन्माएपछि ‘पुग्यो’ भन्ने प्रवृत्ति बढेकाले पनि जन्मदर घटेको हो । स्थायी, अस्थायी साधन वा समझदारीमा परिवारको योजना बनाउने प्रवृत्ति अहिले नेपालमा बढिरहेको छ । यसले नेपालको जनसंख्या निरन्तर घटाउँदै लगेको छ । कुनैबेला परिबार नियोजन कार्यक्रममा देशको ढुकुटीको ठूलो राशी खर्च भएको थियो ।
अन्तर्राष्टिूय दातृ निकायले पनि यो कार्यक्रममा ठूलो लगानी गरेको थियो । जनसंख्या बढ्न नदिने परिवार नियोजन कार्यक्रमको लक्ष्य हो । खर्च जति धेरै भए पनि बिगत ३० बर्षदेखि निरन्तर जनसंख्या घट्नुले परिवार नियोजन कार्यक्रमकै उपलब्धी प्रभावकारी बनेको पुष्टि हुन्छ ।
देशको जनसंख्या घट्नुमा जन्मदर कम हुनु हो भने पहाडी तथा हिमाली जिल्लाको जनसंख्या घट्नुको अर्को कारण बसाइँसराइ हो । यो तथ्यांकले ग्रामीण भेगमा जनसंख्या बढेको र सहर तथा तराइको जनसंख्या बढेको देखाउँछ ।
दुर्गम गाउँहरुमा प्रभावकारी शिक्षा, स्वास्थ्य सेवा तथा पूर्वाधार विकासको अभाव छ । वैदेशिक रोजगारीमा जाने, धेरथोर पैसा कमाउने र सहरमा वा तराइ क्षेत्रमा घरजग्गा लिएर बसाइँ सर्ने चलन दिनानुदिन बढिरहेको छ । जसले गर्दा जनसंख्या घटिरहेको छ ।
जनसंख्या घटेर देश विकासमा नकारात्मक प्रभाव पार्ने होइन । यो त समाजमा घटित एउटा घटना मात्र हो ।




