
मान्बुको रिचेतखोलाबाट पाँच मेगावाट विद्युत उत्पादन सुरु
मान्बु र काशिगाउँको बीचमा पर्ने रिचेतखोलाबाट पाँच मेगावाट जलविद्युत उत्पादन भएको छ । रिचेतखोला जलविद्युत कम्पनी प्रालिले परीक्षण उत्पादन पूरा गरी व्यवसायिक उत्पादन सुरु गरेको हो ।
रिचेतखोला साना जलविद्युत आयोजनाबाट उत्पादित सो विद्युत धादिङको सल्यानटारस्थित विद्युत प्राधिकरणको सव–स्टेशनमा जोडिएको प्रवद्र्धक अर्जुन पौडेलले जानकारी दिए ।
‘गत साउन १ गतेदेखि करिब एक महिना परीक्षण उत्पादन सुरु भएको हो’, पौडेलले भने, ‘साउन २८ गतेदेखि व्यवसायिक उत्पादन गरी केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।’
सो आयोजना रनअफ रिभर प्रकृतिको सो आयोजना ९८ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको प्रवद्र्धक पौडेलले जनाए । आयोजनाका लागि प्राइम कमर्सियल वैँकले ७५ प्रतिशत कर्जा प्रवाह गरेको थियो ।
रिचेत खोला जलविद्युत आयोजनाले धार्चे गाउँपालिका ६ स्थित काशिगाउँका ५४६ घरधुरीलाई निशुल्क विद्युत उपलब्ध गराएको छ । गाउँलेले सो आयोजनामार्फत ३० बर्षसम्म निशुल्क बत्ती बाल्न पाउने भएका वडाअध्यक्ष घलेले जनाए ।
‘नयाँ आयोजनाले यसअघि काशिगाउँका बासिन्दाले उपभोग गरिरहेको कादुरी संस्थाबाट उत्पादित ९० किलोवाटको रिचेतखोला लघुजलविद्युत आयोजना विस्थापित गरेको हुँदा ३० बर्षसम्म निशुल्क रुपमा विद्युत उपलब्ध गराउने सम्झौता भएको छ’, घलेले भने, ‘मर्मतसम्भारचाहिँ स्थानीयस्तरमा नै गर्ने भन्ने सम्झौता छ ।’ मर्मतसम्भारका लागि भनेर स्थानीयबासीले न्यूनत्तम शुल्क भने संकलन गर्ने गरेका छन् ।





