| सोमवार, कार्तिक २३, २०८३

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन आइजिपीले उद्घाटन गर्ने

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन माघ १६ गते उद्घाटन हुने भएको छ । प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले नबनिर्मित भवनको उद्घाटन गर्ने तय भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पुरानो भवन भुकम्पले क्षति पुगेपछि जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २०७५ पुस ४ गते सम्झौता भई निर्माण सुरु भएको थियो । आठकरोड एकलाख रुपैयाँमा सुविधा सम्पन्न भवन निर्माण भएको प्रहरीले जनाएको छ ।

सम्झौता भएअनुसार एकवर्षभित्र काम सक्ने गरी रोयल कन्स्टूक्सनले भवन निर्माणको जिम्मा लिएको थियो । कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय संरचना निर्माण भएको डिएसपी प्रकाश दाहालले जानकारी दिए । प्रहरी निवास, व्यारेक, खाना खानेठाउँ(मेस) र प्रशासनिक कार्यालयसहित पाँच वटा भवन निर्माण भएको उनले बताए ।

अहिले स्तरीय प्रहरी हिरासत, थुनुवा कक्ष निर्माण भएको उनले बताए ।
भुकम्पले क्षति पुगेको भवनमा साँघुरो गरी दैनिक कामकाज गर्नुपर्दा प्रहरीलाई समस्या थियो । प्रहरीका लागि खानबस्न सहज थिएन । नयाँ भवन बनेसँगै सहज हुने डिएसपी दाहालले बताए । नयाँ भवन बनेपछि सेवाग्राहीलाई सेवादिन सजिलो हुने दाहाल बताउँछन् । नयाँ भवन अपाङ्गमैत्री र मानवअधिकारमैत्री पनि रहेको उनले बताए ।

गोरखा जिल्लामा छ सय ९७ जना प्रहरी कर्मचारीको दरबन्दी रहेपनि अहिले पाँच सय २५ जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्