| सोमवार, कार्तिक २३, २०८३

गोरखाको गाउँगाउँमा राष्ट्रिय परिचय पत्र बनाउन टोली आउँदै

सरकारले अब राष्ट्रिय परिचय पत्र बनाउने टोली गोरखाको गाउँगाउँमा खटाउने भएको छ । अबको दुईमहिनापछि गोरखाका ९४ वटै वडा कार्यालयमा सो परिचयपत्र बनाउने टोली आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


अहिले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको निकैठूलो भिड लाग्ने गरेको छ । अब राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागले वडामै पुगेर बिवरण संकलन गर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।


परिचय पत्र नबनाउँदा कुनै पनि कार्यालयको काम नहुने भन्ने झुठो हल्लाले गर्दा कोभिडको महामारीको पर्वाह नगरी सर्वसाधारण परिचय पत्र बनाउन सदरमुकाम आउने गरेको भन्दै उनले झुठो हल्लाको पछि नलाग्न आग्रहसमेत गरेका छन् । ‘अहिले पासपोर्ट बनाउनका लागि मात्र राष्ट्रिय परिचय पत्रको नम्बर चाहिन्छ नत्र अरु काममा यो परिचय पत्र खासै जरुरी छैन’, आचार्यले भने, ‘तत्काल राहदानी बनाउनु नपर्नेहरुले वडामा आउने टोलीसँग बनाए हुन्छ ।’ हाल तनहूका वडाहरुमा खटिएका एकसय जना भन्दा धेरै जनाको टोली तनहूँको काम सकेर दुई महिनामा गोरखाको वडाहरुमा परिचय पत्र बनाउने टोली खटिने उनले बताए ।


कोरोना संक्रमण ब्यापक बढिरहेका बेला भिडभाड गरेर परिचय पत्र तत्काल बनाउन हतार गर्नु नपर्ने प्रजिअ आचार्यले बताए । अधिकांस सर्वसाधारण राष्ट्रिय परिचय पत्र अहिले नबनाउँदा छुट्ने हो कि भन्ने अनावश्यक चिन्ताले जिल्ला प्रशासन धाएका छन् । घण्टौँ लाईन बसेका छन् । ‘वडामा सक्कल नागरिकताबाट बिवरण भर्ने गरी परिचय पत्र बनाउने टोली खटिनेछ’ आचार्यले भने ।


बिभागबाट खटिएको टोलीले अहिले तनहुँ जिल्लाको वडा÷वडामा पुगेर राष्ट्रिय परिचय पत्र निर्माणको काम गरिरहेको छ । परिचय पत्र बनाएपछि दोहोरो नागरिकता लिने प्रवृत्ति हट्ने पञ्जिकरण बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्