| सोमवार, कार्तिक २३, २०८३

भीमसेन थापामा ४६ वटा किरियापुत्री ट्रष्ट निर्माणका लागि ३४ लाख ५० हजार

भीमसेन थापा गाउँपालिकाले पुस २६ गतेको गाउँ सभाबाट ४६ वटा किरियापुत्री ट्रष्ट निर्माण गर्ने योजना पारित गरेको छ । यसअघि ट्रष्टकै लागि बिनियोजन गरिएको १० लाखमा अन्य बिभिन्न योजनाको २४ लाख रकमान्तर गरेर गाउँसभाले किरियापुत्री ट्रष्टलाई प्राथमिकता दिएको हो ।

एउटा ट्रष्टका लागि ७५ हजार रुपैयाँ मात्र बिनियोजन गरिएको छ । वडा नम्बर १ देखि ८ सम्म ४६ वटा ट्रष्ट निर्माण हुने गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए । किरियापुत्रीलाई पानी पँधेरो गर्दा वर्षात, घामपानीले निकै समस्या पर्ने भएकाले टोलैपिच्छे ट्रष्ट निर्माण गर्न बजेट बिनियोजन गरेको उनले बताए ।

‘कार्यान्वयन हुन नसक्ने केही योजनाको बजेट रकमान्तर गरेर वडाको मागको आधारमा किरियापुत्री ट्रष्टमा बजेट बिनियोजन गरेका हौँ’ अध्यक्ष पाण्डेले भने । स्थानीयको सहजताका लागि गाउँपालिकाले किरियापुत्री ट्रष्ट निर्माण गर्न लागेको उनले बताए । ‘गत वर्ष पनि केही ठाउँमा किरियापुत्री ट्रष्ट निर्माण गरेका थियौँ’, उनले भने, ‘बाँकी ठाउँमा अहिले निर्माण हुनेछ ।’

ट्रष्ट गाउँपालिकाभरी एउटै डिजाईनको हुने उनले बताए । भुइँ सोलिङ गरेर प्लाष्टर गरी चारैतिरबाट वाल उठाउने र एकतर्फ ढोका बनाइनेछ । माथि जस्ताले छाउने योजना रहेको उनले बताए । जनसंख्याको चाप अनुसार गाउँबस्तीमा धारा नजिक भएको ठाउँमा ट्रष्ट निर्माण गर्ने गरी ठाउँ छनौट गरिएको अध्यक्ष पाण्डेले बताए ।

वडा नम्बर १ मा आठ वटा, २ मा चार वटा, ३ मा छ वटा, ४ मा नौ वटा र ५ मा चार वटा किरियापुत्री ट्रष्ट निर्माण हुनेछ । त्यस्तै, वडा नं ६ मा पाँच वटा, ७ मा तीन वटा र ८ मा छ वटा किरियापुत्री ट्रष्ट निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत बिजयराज वाग्लेले बताए । स्थानीयहरुको माग आधारमा हरेक वडामा चार देखि नौ वटासम्म किरियापुत्री ट्रष्ट निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ । ‘यो समुदायका लागि आवश्यक पर्छ, त्यसैले मागका आधारमा निर्माण गर्ने गरी छनौट भएको हो’ प्रमुख प्रशासकीय अधिकृत वाग्लेले भने ‘हामी तत्काल कार्यन्वयनमा लैजान्छौँ ।’

बिभिन्न बिकासे योजनाको बजेट काटेर दिगो बिकास भन्दा हतार हतार बजेट खर्च गर्ने गरी गाउँपालिकाले योजना छनौट गरेको भन्दै सामाजिक सञ्जालमा भने किरयापुत्री ट्रष्ट भबन निर्माणको आलोचना पनि भएको छ । साना योजना र छरपष्ट बजेट रकमान्तर गर्दा गाउँपालिकाको दीगो बिकास हुन नसकेको गुनासो केहीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्