
लाप्राकका स्थायी गोठालालाई समाचार सुन्न रेडियो प्रदान
गोठमा बस्दै आएका गोठालालाई देश विदेशमा हुने गरेका घटना बारे जानकारी गराउन रेडियो प्रदान गरिएको छ । सँधै गोठमा बस्ने धार्चे गाउँपालिका ४ लाप्राकका ५० जना गोठालालाई गोठमै पुगेर सोलार जडित रेडियो वितरण गरिएको हो ।
गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको समन्वयमा हाम्रो सहारा फाउण्डेशन नेपालले गोठालालाई हातहातमा गोठालामैत्री रेडियो वितरण गरेको वडाअध्यक्ष राज गुरुङले जानकारी दिए ।
‘सँधै गोठमा बस्ने गोठालाहरुलाई देश विदेशमा भएका विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले गाउँपालिकाको समन्वयमा हाम्रो सहारा फाउण्डेशन नेपाल भन्ने सँस्थाले रेडियो वितरण गरेको हो’, वडाअध्यक्ष गुरुङले भने, ‘गोठमा बसेर रेडियो सुन्न पाउँदा गोठालाहरु धेरै खुशी छन् ।’ रेडियोमा जडित सोलार पाताले व्याटूी फेरिरहनु नपर्ने, गोठमा विद्युत नहुँदा पनि व्याटूी चार्ज गर्ने सुविधा हुँदा गोठालाहरु खुशी भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
‘गाउँपालिकाले गरेका विकास सम्बन्धी गतिविधिलाई गोठालाले पनि थाहा पाउनु भनेर रेडियो उपलब्ध गराइएको हो’, उनले भने, ‘स्थानीय एफएम रेडियोहरुले जिल्लाका तथा राष्टिूय समाचार तथा विभिन्न कार्यक्रमहरु सुनेर गोठालाहरु पनि सुसुचित होउन् भन्ने उद्देश्यले रेडियो उपलब्ध गराइएको हो ।’ स्थायी गोठालाहरुलाई रेडियो बाँड्नेबारे कार्यपालिका बैठकले निर्णय गरेर रेडियो वितरण गरिएको उनले बताए । ‘कोभिडका बेला विद्यालयहरु बन्द भएका छन् । इन्टरनेट सेवा नभएकाले अनलाइन कक्षा सम्भव छैन । यस्तो बेलामा गोठमै बसेर बालबालिकाले रेडियो सुनेर पढ्न पाउँछन्’, उनले भने ।
रेडियो सुन्न पाउँदा गोठालाहरुले खुशी व्यक्त गरेका छन् । ‘समाचार पनि सुन्न पाइयो, अब कहिले घाम लाग्छ, कहिले पानी आउँछ, कहिले हिउँ पर्छ भन्ने बारे पनि सुन्न पाइने भयो’, सँधै गोठमा बस्ने ६१ बर्षका सद्वीर गुरुङले भने, ‘खर्कमा गीत सुन्दै भेँडा चराउन रमाइलो पनि हुन्छ, कोरोनाबाट कसरी बच्ने भन्ने पनि थाहा पाउन सजिलो हुन्छ ।
रेडियोमा लाइट पनि रहेछ त्यसले रातीको समयमा झन सजिलो हुने भयो ।’ मोबाइल पनि नटिप्ने जंगलमा बसेर ताजा खबर सुन्न पाइने भयो भनेर खुशी भएको उनले बताए । सँधै गोठमा बस्ने स्थायी गोठालालाई रेडियो दिने गाउँपालिकाको कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले त्यसमा साझेदारी गरिएको हाम्रो साहारा फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना श्रेष्ठले बताएकी छिन् ।
‘भेँडाबाख्रा, गाईगोरुले भरिभराउ भएको गोठमा पुगेर गोठालाको हातमा रेडियो दिन पाउँदा अत्यन्तै खुशी लागेको छ’, श्रेष्ठले भनिन्, ‘रेडियो पाउँदा गोठालाको मुहारमा देखिएको खुशीले अत्यन्त प्रभावकारी कार्यक्रम गरेको अनुभूति भएको छ ।’ अरु वडाका स्थायी गोठालाहरुलाई पनि यसरी नै रेडियो दिन सँस्था तत्पर रहेको उनले बताइन् ।




