
गुप्सीपाखाको खानेपानी योजना निर्माण सम्पन्न भएको तीनबर्षमै प्रयोगबिहिन
केशव गुरुङ
छ करोड रुपैयाँको लागतमा तीनबर्षअघि निर्माण सम्पन्न गरिएको गुप्सीको एकीकृत बस्तीमा सञ्चालित खानेपानी आयोजना प्रयोगविहन भएको छ । २१ किलोमिटर परबाट ल्याइएको खानेपानीको पाइप अनगिन्ति ठाउँमा क्षतिग्रस्त भएपछि सो आयोजना प्रयोगविहिन भएको हो ।
तीनहजार आठसय ५० मिटर उचाइमा रहेको भुल्मचेतको मुहानबाट ल्याएको खानेपानी पाइपमा हिउँ जमी जहाँतहीँ पाईप फुटेर हैरान पारेको भुल्मचेत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
‘हिउँपर्न थालेपछि पाइपभित्रै पानी जम्न थाल्छ । त्यसपछि फलामको पाइप जहाँतहीँ फुट्छ’, गुरुङले भने, ‘बनाएर सक्नेवित्तिकैदेखि यस्तो समस्या देखिएको हो । यसपालि पनि पाइप फुटेर पानी नआएको डेढ महिना भइसक्यो ।’ आयोजनाको समथर ठाउँमा कालो पाइप र भिरालोमा फलाम पाइप प्रयोग गरिएको छ । प्राविधिक कारणले फलामका पाइपहरु फुट्नाले स्थानीयहरुले पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । धेरै टाढाबाट कष्टपूर्वक ल्याइएको खानेपानी प्रयोग गर्न नपाउदा दुख लागेको उनको भनाइ छ । यसअघि ठाउँठाउँमा टालटुल गरेर काम चलाइएको भए पनि अहिले भने पाइपमा धेरै नै क्षति पुगेकाले बनाउन असम्भव रहेको उनी बताउँछन् ।
‘खानेपानी मर्मत गर्न जान एकदिन, फर्कन अर्को एकदिन लाग्छ । सजिलाका लागि बीचतिर एउटा घर निर्माण गरिएको थियो । त्यो पनि नचिनेका मान्छेले भत्काइदिएछन्’, उनले भने, ‘त्यहाँका जेनेरेटरलगायत सबै सामान पनि फुटाइदिएछन् । त्यो सामान नौजनाले तीनदिन लगाएर ढुवानी गरेका थिए । अब मर्मत गर्न समितिसँग बजेट छैन ।’
२१ किलोमिटर लामो दूरीमा १२ वटा ट्यांकीहरु निर्माण गरिएका छन् ।
केयर नेपाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोग र स्वाँरा सघन ग्रामीण विकास केन्द्रको साझेदारीमा खानेपानी परियोजना सम्पन्न भएको हो । नेपाल भूकम्प पुनर्लाभ तथा पुनस्र्थापना परियोजना अन्तरगत पाँचकरोड ८७ लाख २० हजार रुपैयाँ लागतमा उक्त खानेपानी परियोजना सम्पन्न भएको स्वाँरा संघनका कार्यक्रम संयोजक द्रोणाचार्य तिमिल्सिनाले बताए ।
सो आयोजनाबाट गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको पाँचसय ७३ घर रहेको एकीकृत बस्तीमा खानेपानी वितरण गरिएको छ । ‘खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट पाइप खरिद र फिटिङमा गर्नका लागि एक करोड ८७ लाख तीन हजार ७६ रुपैया र केयर नेपालको तर्पmबाट अन्य सामाग्री खरिद, सामान ढुवानी र कामदारको ज्यालाका लागि तीन करोड ७० लाख २५ हजार रुपैया खर्च भएको थियो’, तिमिल्सिनाले भने ।
हिमाली क्षेत्रमा खानेपानी पाइप सबै हेलीमार्पmत ढुवानी गर्नुपरेकाले पनि धेरै लागत हुन पुगेको उनको भनाइ छ । त्यस्तै, ग्रामीण भूगोल र हिमाली क्षेत्र भएकाले खानेपानी निर्माणमा खटिने कामदारको ज्यालामा मात्र एक करोड ५९ लाख खर्च भएको उनले जानकारी दिए । वि.सं. २०७३ साल चैत्र १४ गतेबाट सुरु भएको उक्त आयोजना २०७५ फागुनमा सम्पन्न भएको थियो । विकाशको आशा देखाएर उपभोक्तालाई दुख दिने काम भएको भन्दै वडा अध्यक्ष राज गुरुङले प्राविधिक त्रृटिका कारण खानेपानी आयोजना असफल भएको तर्क गरेका छन् ।
वैकल्पिक मुहानको खोजी
खानेपानी आयोजनामा पटक–पटक समस्या आएपछि वैकल्पिक मुहानको खोजी भएको छ । ‘धेरै उचाइमा रहेको र लामो दुरी रहेकाले धेरै समस्या भएको हो त्यसैले छोटो दुरी र कम उचाइमा रहेको मान्द्रा खोलाबाट खानेपानी ल्याउने भनेर बैकल्पिक मुहान खोजेका छौँ’ अध्यक्ष गुरुङले भने । वैकल्पिक नयाँ मुहानको डिपिआर तयार पारेर प्रदेश सरकारलाई पठाइसकेको उनले बताए । नयाँ मुहानबाट पानी ल्याउन सके फलामका पाइपहरु चिसोबाट नफुट्ने उनले बताए । बैकल्पिक मुहान २८ सय १८ मिटरको उचाईमा रहेको उनले बताए । उक्त मुहानबाट ल्याएका पानी यसअघि निर्माण गरिएको लाम्रमा रहेको खानेपानी ट्याङीमा आएर जोडिने समेत उनले बताए ।
वैकल्पिक मुहानका लागि भनेर कुनै योजना नआएको खानेपानी तथा सरसफाई डिभिजनका प्रमख किरण पौडेलले बताए । ‘गण्डकी प्रदेश सरकारबाट बैकल्पिक मुहानका लागि भनेर कुनै योजना आएको छैन’, उनले भने । सो खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।
एकीकृत बस्तीमा वैकल्पिक खानेपानी मुहानलाई पहल गरिरहेको गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताए । उनले भने, ‘खानेपानी कार्यालय गोरखाबाट इन्जिनीयर टोलीले फिल्ड गएर वैकल्पिक मुहानका लागि प्राविधिक सुझाव सहित प्रदेशमा डिपिआर योजना पठाउनुभएको छ । हामी त्यसको अध्ययन गरिरहेका छौ ।’ खानेपानी मुहानका लागि धेरै बजेट चाहिने भएकाले प्रदेशसँग स्रोत नभएकाले आवश्यक स्रोत जुटान पहल भइरहेको उनले बताए । ‘तत्काल हामीसँग पनि स्रोत छैन । त्यसैले कानुन र प्रक्रिया अनुसार संघ सरकारसँग हुन्छ या के गरेर हुन्छ । स्रोत खोज्नुपर्छ’ उनले भने ।




