| सोमवार, कार्तिक २३, २०८३

स्थायीकुल्लीको व्याथा : हाम्रो आँशु बग्यो भने सडकमा खाल्डो पर्छ

शिव उप्रेती

ठेला अड्याएर सडकको नाली खनीखोस्री गरिरहेका मजदुरप्रति सवारीमा कुदिरहेका जोकोहीको नजर त पर्छ, तर उनीहरुमाथि एकैछिन पनि नजर अडिँदैन । किनभने सवारीको गति तिब्र हुन्छ । बीसौँ बर्षदेखि खनिखोस्री गरिरहेका ती मजदुरले के कस्ता दुख झेलिरहेका छन्, उनीहरुमाथि ३० सेकेण्ड पनि आँखा नअड्याउने जोकोहीलाई थाहा छैन ।

७२ बर्षका गणेशबहादुर थापाले सडक विभाग लेखेको पहेँलो जाकेट लगाएर सडकलाई सुरक्षा दिएको ३२ बर्ष भयो । ‘म यहाँ काम गर्न थालेपछि भर्खर बहुदल आएको थियो’, गोरखा नगरपालिका ११ का थापा भन्छन्, ‘उमेर छउञ्जेल यही काम गरियो । अब नारीमा अलिअलि बल छउञ्जेल गर्छु । नगरेर के गर्ने त ? पेन्सन आउँदैन । जहान परिबार पाल्नुपरिहाल्यो ।’ यही रोडको रक्षा गरेबापत पाउने ज्यालाले उनले छोराछोरी हुर्काए, बढाए, पढाए ।

No description available.


उनका अर्का सारथी हुन्, धनबहादुर कुमाल । उनको घर पनि त्यतै आसपास हो । ‘११ सालको जन्म हो । उमेर त कति भयो कुन्नि, आफै हिसाव गर्नुस्’, कुमाल भन्छन्, ‘बाहाँपयर चुलञ्जेल सडक पुछ्यो, बढा¥यो, मुसा¥यो, माया ग¥यो अब नसक्ने भएपछि निस्की जा भन्छन् ।’ स्थायी कुल्ली भने पनि पेन्सनको भने व्यवस्था नहुने भन्दै उनी गुनासो गर्छन् ।

‘बहाँपयर चलुञ्जेल सडकमा लडीबडी गर्यो, अहिले बुढेसकालमा आँशु झार्नुप¥यो भने हाम्रो आँशुले सडक खाल्डो पर्छ’, उनी भन्छन्, ‘उपदान त दिन्छ कि ? दियो भने बुढेसकालमा नूनतेल खान हुन्छ । हातगोडा चलुञ्जेल यही रोड मुसारेरै बित्यो, अब नसकेको घरीमा सरकारले हेर्नुपर्ने हो । नत्र हाम्रो आँशुले पिर्छ । थाईकुल्ली हो, हेर्छ कि भन्ने आशा छ ।’

सडक बिभागले थापा र कुमाललाई अलग(अलग सडक सुरक्षाको जिम्मा दिएको छ । तर उनीहरु आपसी समझदारीमा दुवैको जिम्मेवारी पूरा गर्ने गर्छन् । ‘बाह्रकिलोदेखि छ किलोमिटर मेरो जिम्मा हो । फेरि त्यहाँबाट छ किलोमिटर उसको जिम्मा हो’, थापा भन्छन्, ‘तर एक्लाएक्लै के काम गर्ने भनेर हामी मिलेर १२ किलोमिटरकै काम गरिरहेका छौँ ।’ उनीहरुलाई सडक बिभागले मासिक २१ हजार ज्यालाको व्यवस्था गरेको छ । पेन्सनको व्यवस्था गरिदिए बुढेसकालमा सरकारको जयजयकार गर्ने उनीहरुको मनसुवा छ ।

प्रतिक्रिया दिनुहोस्