| सोमवार, कार्तिक २३, २०८३

करोडौँ लगानी, खै पानी !

धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा ६ करोड खर्चेर खानेपानी आयोजना निर्माण गरियो । गैरआवासीय नेपाली संघ, एनआरएनले निर्माण गरेको एकिकृत बस्तीका लागि २१ किलोमिटर परबाट पानी बस्तीमा ल्याइयो । उक्त आयोजना बनेपछि गुप्सीपाखामा छ सय भन्दाबढि घरधुरी पानी सहजै पाउने आशमा खुसी भए । तर उनीहरुको आसा केही वर्षपनि टिकेन । तीन वर्ष अघि निर्माण सम्पन्न भएको उक्त आयोजना अहिले प्रयोगबिहिन बनेको छ ।


गुप्सीपाखामा हिउँ पर्छ । त्यहाँभन्दा माथि पानी ल्याइएको मुहानमा पनि हिउँ जम्छ । पानी बग्ने पाईमा हिउँ जमेर फलामको पाईप ठाउँठाउँमा फुट्न थालेपछि आयोजना प्रयोगबिहिन बनेको हो । करिब डेढ महिनादेखि उक्त आयोजनामा पानी चलेको छैन । यो समस्या तरन्तार आउन थालेपछि समस्या भएको हो । अहिले कयौँ ठाउँमा पाईप फुटेर पानी बिचबाटै खेर गएको छ ।


२१ किलोमिटर लामो दूरीमा १२ वटा ट्यांकीहरु निर्माण गरिएका छन् । केयर नेपाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोग र स्वाँरा सघन ग्रामीण विकास केन्द्रको साझेदारीमा खानेपानी परियोजना सम्पन्न भएको हो । नेपाल भूकम्प पुनर्लाभ तथा पुनस्र्थापना परियोजना अन्तरगत पाँचकरोड ८७ लाख २० हजार रुपैयाँ खर्च भएको छ । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको योजना तीन वर्ष पनि नटिक्नुले गुणस्तर माथि पनि प्रश्न उब्जिएको छ ।


गुप्सीपाखा हिउँ पर्ने अत्याधिक चिसो ठाउँ हो । त्यहाँको पानी जम्छ । पाईमा हिउँ जम्छ भन्ने ज्ञान आयोजना संचालनकै क्रममा प्राविधिकहरुलाई हुनुपथ्र्यो । हिउँले फलामको पाईप फट्ने अवस्था आउन नदिन बिकल्प सोच्नुपथ्र्यो । आयोजना मात्रै सिध्याउने तरिकाले काम हुँदा गुप्सीपाखाका स्थानीयलाई अहिले फेरी खोलाखाल्सीमा पानीको स्रोत खोज्दै हिँड्नुपर्ने बाध्यता छ । आयोजनालाई मर्मत गरेर फेरी यस्तो समस्या आउन नदिने गरी करोडौँ लगानी बचाउनुपर्छ र लाप्राकीलाई सहज रुपमा पानी पनि पिलाउनुपर्छ । सरोकारवालाको ध्यान छिट्टै जाओस् ।

प्रतिक्रिया दिनुहोस्