| सोमवार, कार्तिक २३, २०८३

होमस्टे सहानुभूतिले मात्र पुग्दैन, मिहिनेत गर्नुपर्छ

आन्तरिक पर्यटनको अवधारणा आएपछि गाउँघरमा पनि व्यवसायिक रुपमा पाहुनालाई आवास सेवा दिन थालियो । गाउँघरमा होटल र पाहुनामैत्री बासको व्यवस्था नभएको अबस्थामा पर्यटन विकास हुन नसक्ने देखी घरबास सेवा तथा होमस्टे सेवाको अवधारणा विकास भएको हो ।
होमस्टे सञ्चालन गरी गाउँघरमा पर्यटन विकास गर्ने, स्थानीयबासीको आयआर्जन वृद्धि गर्ने जस्ता काममा सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि अग्रणी भूमिका खेले । होमस्टे सञ्चालन गर्न उत्प्रेरित गर्ने, होमस्टेका प्राविधिक ज्ञान दिने, तालिम, प्रशिक्षण दिने मात्र नभै पूर्वाधार निर्माणमा समेत सरकारी गैरसरकारी संस्थाले सहयोग गरे ।

अहिले गोरखाकै पनि धेरै ठाउँमा होमस्टे सञ्चालित छन् । बारपाक सामुदायिक होमस्टे, लाप्राक सामुदायिक होमस्टे, लिगलिगकोट सामुदायिक होमस्टे, नम्की सामुदायिक होमस्टे, पस्लाङ सामुदायिक होमस्टे, वीरेन्चोक सामुदायिक होमस्टे लगायत दर्जन ठाउँमा होमस्टे सञ्चालित छन् । अहिले पनि स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न दातृ संस्थाहरुले विभिन्न पूर्वाधार निर्माणमा सहयोग गरिरहेका छन् ।

होमस्टे भनेको सेवा मात्र होइन, आयआर्जन गर्ने व्यवसाय पनि हो । उदयदेखि नै होमस्टे(घरबास) सेवाले धेरै नै सहानुभूति पाएको सबैले अनुभूति गरेको हो । अहिलेसम्म पनि सहानुभूति पाएको छ ।

होमस्टेमा पारिवारिक माया(ममता, सद्भाव प्राप्त हुन्छ । व्यवसायिक पाहुना मात्र नभै पारिवारिक आत्मियता पनि पाइन्छ भन्ने सबैमा भान हुन्छ । साथै होमस्टेमा घरको दाउराको आगोमा कपाएको सुपाच्य अर्गानिक खाना पाइन्छ भन्ने विश्वास छ । साथै गाउँमा प्रचलित लोक गीत संगीतको स्वाद पाइन्छ भन्ने विश्वास छ ।
यी विश्वासलाई जिवित राख्न अब सहानुभूतिले मात्र पुग्दैन होमस्टे सञ्चालकले मिहिनेत नै गर्नुपर्छ । आजसम्म जसरी सहानुभूतिले मात्र चलेको छ अब पर्यटक आकर्षण गर्न मिहिनेतको जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्