| सोमवार, कार्तिक २३, २०८३

मंसिर १७ देखि पुस ९ भित्र गोरखामा छ हजार भन्दाबढी मतदाता थपिए

गोरखामा मतदाता नामावली विशेष कार्यक्रम अन्र्तगत छ हजार भन्दा बढी मतदाता थपिएका छन् । मंसिर १७ गतेदेखी पुष ९ गतेसम्म दुई चरणमा छ हजार आठ सय ११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका र चुमनुब्री बाहेकका नौ स्थानीय तहमा यो अभियान संचालन भएको थियो । सो यो अभियानमा तीन हजार सात महिला र तीन हजार आठ सय चार जना पुरुषले नामावली दर्ता गराएका निर्वाचन कार्यालयका रबिलाल सुवेदीले बताए ।

पहिलो चरणमा ५ पालिकामा घुम्ती टोली मार्फत मंसिर १७ देखी २६ गतेसम्म नामावली संकलन गरिएको थियो । सो अबधिमा अजिरकोट गाउँपालिकामा चार सय २९, गण्डकी गाउँपालिकामा पाँच सय ३७ , धार्चे गाउँपालिकामा आठ सय एक , पालुङटार नगरपालिकामा १३ सय ९६ र बारपाक सुलिकोट गाउँपालिकामा छ सय ९५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ ।

दोस्रो चरण अन्तरगत मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म चार पालिकामा अभियान सञ्चालन भएको थियो । जस अनुसार आरुघाट गाउँपालिकामा नौ सय ७९, भिमसेन थापा गाउँपालिकामा ६ सय २६ , शहिद लखन गाउँपालिकामा ३ सय ६० र सिरानचोक गाउँपालिकामा ९ सय ८८ जनाले मतदाताका लागि नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सिर्दिवास र जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन गरेको थियो ।
इलाका प्रशासन कार्यालय सिर्दिबासमा पुस १९ गतेसम्म मात्र नामावली संकलन गरिने र बाँकी दुई कार्यालयमा निर्वाचनको मिति नतोक्दासम्म नामावली दर्ता जारी रहने सुवेदीले बताए ।

यसअघिको मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

विवरण केही त्रुटी सच्याउनु परेमा वा अद्यावधिक गर्न परेमा भने जिल्ला निर्वाचन कार्यालयमै आउनु पर्ने उनले बताए । आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ तर मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ । छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्