
गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने
गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायतलाई पहिलो चरणमा बुस्टर डोज खोप लगाइने प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
‘महिला स्वास्थ्य स्वयशेविका, पत्रकार र स्वास्थ्यकर्मीका लागि गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकबाट खोप लगाइनेछ’ उनले भने ‘जनप्रतिनिधि र कर्मचारीलाई गोरखा अस्पतालको पुरानो इमरजेन्सी भबनबाट सेवा दिईनेछ ।’ मंगलवार पहिलो दिन वडा नम्बर ६, ७, ८ र १२ मा खोप लगाउन सुरु गरिने उनले बताए । वडा नम्बर १० देखि १४ सम्मका खोप लगाउन तोकिएका लक्षित बर्गले तारानगर स्वास्थ्य चौकीबाट सेवा लिन सक्नेछन् ।
रानीस्वाँरा स्वास्थ्यचौकीमा सुरक्षाकर्मीले खोप लगाउनेछन् भने आधारभुत स्वास्थ्य केन्द्र गोनपा ७ डण्डिडाँडामा बैंक तथा बित्तिय कर्मचारीले खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । यस अघि दोस्रो मात्रा खोप लगाएको छ महिना समय भएकाले मात्रै बुस्टर डोज खोप लगाउन पाउनेछन् । खोप लगाउन जाँदा कार्ड अनिवार्य रुपमा लैजान पनि नगरपालिकाले अनुरोध गरेको छ ।




