
स्वास्थ्य कार्यालयमा तथ्यांक व्यवस्थित नहुँदा गोरखामा बुस्टर डोज खोप सुरु भएन
सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोना बिरुद्धको तेस्रो मात्रा) खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा भने सुरु हुन सकेन । स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा एकैचोटी बुस्टरडोज खोप अभियान सञ्चालन गर्न खोजेका कारण कुनै पनि ठाउँमा अभियान सुरु हुन नसकेको हो ।
साथै कार्यालयले बुस्टरडोज खोप लगाउने लक्षित समूहको तथ्यांक व्यवस्थित गर्न नसकेका कारण पनि खोप अभियान सुरु हुन नसकेको हो । आफ्नो तयारी पूरा गरेर खोप झिकाउन नसकेको कार्यालयले खोप नआएका कारण बुस्टर डोज खोप लगाउन नसकिएको दाबी गरेको छ । ‘एक त खोप आएको छैन, कति चाहिन्छ भन्ने पनि थाहा छैन’ कार्यालय प्रमुख विद्या तामाङ भन्छिन्, ‘कुन पालिकामा बुस्टर डोज लगाउनुपर्ने मानिस कति छन् भन्ने तथ्याङ्क पनि कार्यालयमा छैन । सोमवार बेलुकीसम्म तथ्याङ्क आयो भने मंगलवार वा बुधवार खोप ल्याउन सकिनेछ ।’
खोप ल्याएपछि पनि तत्काल लगाउन सुरु हुने देखिँदैन । किनकी गोरखामा बालवालिकाको मोर्डना खोप लगाउने कार्यक्रम माघ दोस्रो सातासम्म चलिरहन्छ । केही ठाउँमा भने आईतवारबाट बुस्टर डोज लगाउन थालिएको छ । गोरखामा भने बुस्टर डोज लगाउने मिति अझै तय भएको छैन ।
कोभिडको पहिलो चरण मात्रा पूरा गरेका छ महिना पुगेकालाई बुस्टर डोज खोप लगाउन योग्य मानिन्छ । कसले कहिले मात्रा पूरा गरे र त्यस्ता मानिस कति छन् भन्ने यकिन तथ्यांक पालिका र स्वास्थ्य कार्यालयसँग नहुँदा खोपमा ढिलाई भएको हो । यसअघि पहिलो र दोस्रो मात्रा लगाउँदाको रेकर्ड ब्यवस्थित छैन ।
अहिले पालिकाहरुले बालवालिकालाई मोर्डना खोपको दोस्रो मात्रा दिँदैछन् । ‘खोप अभियान चलिरहेकाले पनि बुस्टर डोजको काम गर्न समस्या भएको छ’ स्वास्थ्य कार्यालय स्रोत भन्छ ।
गोरखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दिनेशराज पन्तले बुस्टर डोज खोप उपलब्ध गराएको खण्डमा कर्मचारी ब्यवस्थापन गर्न सकिने बताए । ‘नियमित खोप, बालवालिकाको खोप चलिरहेको छ’, उनले भने, ‘तर पनि हामी यसलाई ब्यवस्थापन गर्न सक्छौँ ।’ स्वास्थ्य कार्यालयले सबै पालिकामा एकै साथ अभियान चलाउने योजना बनाएको छ । यसका कारण पनि बुस्टर डोज गोरखामा ढिला हुने देखिन्छ ।




