| सोमवार, कार्तिक २३, २०८३

जीवनज्योति माविका शिक्षकको तलब तीन महिनादेखि रोक्का

पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरुको तलब तीन महिनादेखि रोकिएको छ । प्रधानाध्याकलाई पटक–पटक सोधेको स्पष्टिकरणको जवाफ नदिँदा खाता रोक्का गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
खाता रोक्का हुँदा त्यहाँ कार्यरत ३२ जना शिक्षक, कर्मचारी तलवभत्ता पाउनबाट बञ्चित भएका छन् ।

रोक्का खाता फुकुवा गरिदिन माग गर्दै प्रधानाध्यापक बद्रीबहादुर पाण्डेको नेतृत्वमा शिक्षकहरुले बिहिवार शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीलाई ज्ञापन पत्र बुझाएका छन् । आफ्नो र विद्यालयका सहायक कर्मचारी सुशीला गुरुङको संयुक्त हस्ताक्षर रहने गरी कृषि विकास वैंक ठाँटीपोखरी शाखामा रहेको खाता रोक्का भएको प्रअ पाण्डेले जनाए ।

विद्यालयमा करारमा कार्यरत कर्मचारी सुशीला गुरुङको हस्ताक्षर रोक्का गरेर स्थायी कर्मचारीको हस्ताक्षरबाट खाता चलाउन भन्दै नगरपालिकाले खाता रोक्का गरेको जनाएको छ ।
उक्त खाता रोक्का हुँदा शिक्षकहरुले कात्तिक मंसीर र पुस महिनाको तलब नपाएको प्रअ पाण्डेले बताए ।

शिक्षा कार्यालयको परिपत्रलाई बारम्बार अटेरी गरेकाले खाता रोक्का गरिएको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले बताए । गतवर्ष र यो बर्षको अहिलेसम्म विद्यार्थीलाई दिवा खाजा नखुवाएको, दशैँको समयमा विद्यालयले शिक्षकलाई तलब नखुवाएकोे बारेमा शिक्षा शाखाले स्पष्टिकरण माग गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष बसन्त श्रेष्ठले करिब नौसय जना विद्यार्थी रहेको विद्यालयमा असार यता ब्यवस्थापन समिति गठन गर्न प्रअले चासो नदिएको बताए ।

‘विद्यालयमा धेरै समस्या छन्, तर समाधान गर्न चासो दिइएको छैन’, उनले भने, ‘गतवर्ष विद्यार्थीलाई दिवा खाजा नखुवाएर बजेट फिर्ता गरेको, यसवर्ष पनि अहिलेसम्म विद्यार्थीलाई दिवा खाजा नखुवाइएको, अडिट रिपोर्ट समयै पेश नगरेको, अझै दुई वर्षको अडिट गर्न बाँकी रहेको, समयमै काम नगर्ने, हिसाबकिताब पारदर्शी नराखेको, स्थायी कर्मचारी हुँदाहुँदै करारको कर्मचारीले गल्ती गर्दा पनि उसैलाई आर्थिक अधिकार दिएको, वडा र नगर शिक्षाको निर्देशन अटेर गरेको जस्ता आरोप प्रधानाध्यापक माथि छ ।’

नगर शिक्षा कार्यालय र वडा शिक्षा समितिलाई अटेर गरेकाले प्रअसँग स्पष्टिकरण सोधिएको वडा अध्यक्ष श्रेष्ठले बताए । विद्यालयले करार कर्मचारीको सट्टा स्थायी कर्मचारीको हस्ताक्षरमा बैंक खाता संचालन गरेको खण्डमा तलब खुवाउन सक्नेछ । नयाँ कर्मचारीको नाममा बैंक खाता खोल्ने निर्णय नगरी स्पष्टिकरण सोधिएका कर्मचारीबाटै खाता खुलाउनुपर्ने अडान प्रधानाध्यापकको छ ।

प्रतिक्रिया दिनुहोस्