
नेकपा एमालेको गोरखा जिल्ला अध्यक्षमा तीनजनाको दाबी
देशभर एकैदिन, एकै समयम जिल्ला अधिवेशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रबार ११ बजे मदनआश्रित भवन चाइनिज धारामा उद्घाटन हुने भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामशरण बस्नेतले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव कृष्ण नेपालीले जानकारी दिए ।
अधिवेशनका लागि प्राय तयारी पूरा भइसकेको उनले बताए । उनका अनुसार केही जनसंगठनहरुको प्रतिनिधिहरुको टुंगो लगाउन बाँकी रहेको छ ।
जनसंगठनको टुंगो लागिसकेपछि अधिवेशनका लागि करिब छसय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
उद्घाटन समारोहमा बस्नेत तथा अर्की केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश सदस्यहरु अतिथिको रुपमा रहनेछन् ।
सातौँ अधिवेशनबाट नयाँ कार्यकालको नेतृत्व गर्न तीन जना जिल्ला नेताहरुले दावी गरेका छन् । वर्तमान अध्यक्ष प्रेम गुरुङ, प्रदेश सदस्य सुरेन्द्र थापा र वर्तमान जिल्ला कार्यसमितिका सचिव कृष्ण नेपालीले अध्यक्ष पदका लागि आ–आफ्नो दावी प्रस्तुत गरेका छन् । तीनजनामध्य एक जनाको नाममा सर्वसहमति गराउने गृहकार्य भइरहेको पार्टीले जनाएको छ ।
त्यस्तै अधिवेशनबाट एकेक जना अध्यक्ष, उपाध्यक्ष र सचिव निर्वाचित हुनेछन् भने उपसचिवमा दुईजना १३० जना सदस्यहरु निर्वाचित हुनेछन् । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।
अधिवेशनका लागि रमेश अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको सचिव नेपालीले जानकारी दिए ।




