
शनिबारसम्म सामान्य तथा पूर्णतया बदली हुने
मंगलवार रातीदेखि शनिबारसम्म मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुने भएको छ ।
पश्चिम नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारसम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।
साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा ह–का वर्षाको समेत सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।




