| सोमवार, कार्तिक २३, २०८३

व्यवसाय र व्यवसायीको सुदृढिकरणमा जोड दिनेछु : श्रेष्ठ

हालै सम्पन्न सोह्रौ अधिवेशनबाट गोरखा उद्योग वाणिज्य संघको तीनबर्षे कार्यकालका लागि कृष्णकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । संघमा प्रवेश गरेको ३० बर्षपछि अहिले श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत आसिन भएका हुन् । गोरखा नगरपालिका ३ नारेश्वर स्थायी ठेगाना भएका श्रेष्ठ २०५८ सालमा साधारण सदस्य बनेर संघमा प्रवेश गरेका थिए ।


यसअघिको कार्यकालमा उनी वरिष्ठ उपाध्यक्ष थिए । संघमा प्रवेश गरेको तीनर्षपछि अर्थात २०६१ सालदेखि ०६३ सालसम्म उनी कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछिको कार्यकाल अर्थात २०६३ देखि २०६५ सम्मको कार्यकालमा सचिव बनेर काम गरे भने लगत्तैको कार्यकाल अर्थात, २०६५ देखि ०६८ सालसम्म कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यसपछिको कार्यकाल अर्थात २०६८ बाट ०७१ सम्म महासचिव, २०७१ बाट ०७४ सम्म उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । २०७४ सालदेखि २०७८ सम्म भने बरिष्ठ उपाध्यक्षको रुपमा क्रियाशील थिए । ३० बर्षे अनबरत यात्रापछि अध्यक्षको पद चुमेका श्रेष्ठले आफ्नो कार्यकाललाई उत्कृष्ठ बनाउन हरसम्भव कोशिष गरिरहेको जनाएका छन् । यिनै सन्दर्भमा गरिएको कुराकानीको सार संक्षेप :


३० बर्षको अनुभवले खारिएर तपाईँले आफ्नो कार्यकाललाई बिगत भन्दा पृथक बनाउनु हुन्छ ?

अवश्य पनि । पृथक त यसै पनि हुन्छ । समय सन्दर्भ फरक छ । व्यवसायीको अवसर र चुनौति फरक छन् । चाहना फरक छन्, आवश्यकता फरक छन् । नेतृत्वको कार्यशैलि फरक हुन्छ । व्यवस्था फरक हुँदै जाला । यिनै परिवेशमा काम गर्दा पृथकता आइहाल्छ ।


आफ्नो कार्यकालमा गर्ने महत्वपूर्ण कार्यक्रम के के हुनसक्लान् ?

म एकल निर्णय गरेर अघि बढ्दिन । टिमले निर्णय गर्ने हो, त्यसैले छिटै नै एक योजना तर्जुमा गोष्ठी आयोजना गर्नेछु । सबैको राय, सुझाव कस्ता–कस्ता आउँछन्, त्यसकै आधारमा कार्यक्रमहरु बन्लान् । मूल कुरा यो हो कि, व्यवसायीहरुको हक हितमा काम गर्ने संस्था भएकाले के गर्दा हाम्रा व्यवसाय र व्यवसायीको संरक्षण हुन्छ, हित हुन्छ भन्ने अध्ययन गरेर अघि बढ्नेछु । हामीमा आवद्ध साना व्यवसायीको चाहना के छ, ठूला व्यवासयीको चाहना के छ खोज्नेछौँ, बुझ्नेछौँ । त्यसकै आधारमा अब हामीले केही गनुपर्छ भन्ने लागेको छ ।


संघको अधिवेशन उद्घाटन कार्यक्रममा गृहमन्त्रीले गोरखकाली रबर उद्योग सञ्चालन गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो नि । सक्नुहुन्छ ?
गोरखकाली रबर उद्योग हामी नेपाल र नेपालीको तथा हामी गोरखालीको इज्जत र प्रतिष्ठाको विषय हो त्यसैले यो जसरी पनि सञ्चालन हुनुपर्छ भनेर महासंघ लडिरहेको छ । आवश्यक परेमा यसको नेतृत्व लिन उद्योग वाणिज्य संघ, महासंघ तयार छ भन्ने विषय समेटेर गृहमन्त्रीलाई अनुरोध गरेका थियौँ । त्यसकै आधारमा उहाँले हामीलाई तयार रहन आग्रह गर्नुभएको हो ।


पर्यटन उद्योगका लागि यसअघि त संघले विभिन्न कार्यक्रम गरेको थियो । निरन्तरता दिने योजना छ कि छैन ?

सबैले टुरिजम–टुरिज्म भन्छन्, तर पर्यटक आउने वातावरण छैन । केही अबेर पर्यटक आए भने बस्ने खाने ठाउँ(होटलहरु) बन्द भइसकेका हुन्छन् । त्यसैले हामीले होटलहरु कम्तिमा पनि राती ११ बजेसम्म खुल्ला गर्नुपर्ने भनेर मन्त्रीज्यूसित, जिल्ला सुरक्षा समितिसंग धेरैपटक माग गरेका छाँै । त्यस्तै संघले होटल व्यवसाय सञ्चालन गर्न तालिमप्राप्त, दक्ष कुक, वेटर, वेकरलगायतका दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रम बनाएको छ । त्यस्तै पर्यटकलाई आबश्यक पर्ने टुरिष्ट गाइड, टूेकिङ गाइड तालिम पनि चलाउने निर्णय लिएको छ ।


पोके व्यापारीले गर्दा गोरखाका व्यापारी, व्यवसायी समस्याग्रस्त छन् । अभिभावक संस्थाको हैसियतले यो समस्या समाधान गर्न के गर्न सक्छ ?
गोरखामा ठूला व्यवसायी भन्दा साना व्यवसायी धेरै छन् । साना व्यापारी, व्यवसायीले बलबुताले भ्याएसम्म राम्रो व्यापार गर्छु भनेर प्रयास गर्दागर्दै बाह्य(पोके) व्यापारी आएर अस्तब्यस्त बनाएका घटना छन् । हामी, हाम्रा व्यवसायीहरु अर्काको घरमा भाडा तिरेर, प्यान, भ्याट तिरेर, स्थानीय सरकारमा दर्ता भएर तथा कर तिरेर विधिवत व्यवसाय चलाइरहेका हुन्छौँ तर ठूला व्यापारी, व्यवसायीले नारायणगढ, पोखरा, काठमाडौँ, खैरेनीबाट गाडीमा सामान ल्याएर बेच्ने, पोको बोकेर आएर घरघरै सामान बेच्ने गरेका छन् । उनीहरु न कुनै निकायमा दर्ता छन्, न स्थानीय सरकारलाई कर तिर्छन्, न नेपाल सरकारलाई ।

उनीहरुले ल्याएका सरसामानको गुणस्तर तथा डेटको कुनै ग्यारेण्टी पनि हुँदैन । त्यसैले अवैध रुपमा चलेका उनीहरुबाट ग्राहकवर्ग तथा विधिवत सञ्चालित व्यापारी, व्यवसायीमा समस्या परिरहेको छ । तर उनीहरुलाई नियन्त्रणमा लिने, नियमन गर्ने निकाय छैन । यो समस्या समाधान गर्न राज्यले तदारुकता देखाउनु पर्छ ।


व्यापारी व्यवसायीलाई सक्षम बनाउन के गर्नुहुन्छ ?
अहिलेसम्म पनि करको बारेमा जानकारी नपाएका व्यापारी, व्यवसायी छन् । हामी उनीहरुका लागि दोहोरो लेखा प्रणाली कसरी राख्ने, कर प्रणालीमा कसरी सुसुचित हुने ? जस्ता लेखा राख्न सिकाउने कार्यक्रम राख्छौँ ।


त्यस्तै सरकारले वैँक तथा वित्तीय संस्थाहरुलाई कृषि क्षेत्रमा १० प्रतिशत लगानी गर्न निर्देश गरेको छ तर वैँकहरुले कार्यान्वयन गरेका छैनन् । बास्तविक किसान यो सेवाबाट बञ्चित छन्, अर्कातिर किसान बनेर गैरकिसानले लाभ लिइरहेका छन् । यो अबस्थाको अन्त्यका लागि हामी निरन्तर जोड दिइरहनेछौँ । उद्यम गर्ने किसान पनि हाम्रो कार्यक्षेत्रभित्र पर्छन् । यदि उनीहरुको प्रवद्र्धन गर्न सकियो भने हामीले न्याय दिलाउन सक्छौँ ।


मनोनित गर्ने पदहरु छन् । पूर्णता दिन कति समय कुर्नुहुन्छ ?
पर्खदैनौँ । सर्वप्रथमतः हामी सपथग्रहण कार्यक्रम राख्छौँ, त्यसपछि साता, दसदिनभित्र हामी पहिलो बैठक राखेर मनोनित गर्ने पदलाई पूर्णता दिइहाल्छौँ ।

प्रतिक्रिया दिनुहोस्