
कृष्णकुमारको नेतृत्वमा गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व
गोरखा उद्योग वाणिज्य संघ गोरखाको १६ औं अधिवेशनबाट कृष्णकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षसहित अन्य छ पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी अर्याल निर्विरोध निर्वाचित भएका हुन् । तोकिएको समयमा दाबी बिरोध नपरेपछि उनीहरुलाई निर्विरोध निर्वाचित घोषणा गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले बताए ।
तर महासचिव र सचिवसहित अन्य सात सदस्य पदमा भने उम्मेद्वारी परेकाले आइतबार निर्वाचन भएको थियो । मतदानबाट संस्थापन पक्षले तयार गरेको प्यानलबाट उम्मेद्वारी दिएका सबै उम्मेद्वार विजयी भएका छन् ।
सोमबार बिहान दुईबजे सम्पन्न मतगणनाको परिणामअनुसार संघको महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ३ सय ५५ मतका साथ महासचिव पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामहरि केसीले २ सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले बताए ।
यस्तै, सचिवमा काजिराम श्रेष्ठलाई पराजित गर्दै चन्दनबाबु खत्री विजयी भएका छन् । खत्रीले ३ सय ६५ मत प्राप्त गर्दा श्रेष्ठको पक्षमा २ सय ५७ मत खसेको निर्वाचन अधिकृत दुवाडीले बताए । संघको सदस्यहरुमा दीपक कुमार श्रेष्ठ (अनु) ४३३, सुरेन्द्र कुँवर ४१३, मनकाजी श्रेष्ठ ४२५, शरण श्रेष्ठ ४१०, वसन्त बस्नेत ४०६, शिबध्वज खत्री ३८२, र अयोध्या जोशी ३९९ मत प्राप्त गरी विजयी भएको उनले बताए ।
७ सदस्य पदका लागि ११ जना चुनावी मैदानमा थिए ।
अन्य प्रतिस्पर्धीमध्य शंकरबहादुर कुँबरले १६८, कर्णबहादुर गुरुङले २८१, प्रेमध्वज थापाले २४१ र किरण ढकालले १९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
संघको १६ औं अधिबेशनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । मतदान प्रक्रियामा ६ सय ७० मतदाता सहभागी रहेको गोरखा उद्योग वाणिज्य संघले जनाएको छ ।




