| सोमवार, कार्तिक २३, २०८३

गोरखकाली रबर उद्योग वाणिज्य संघले संचालन गरुन्

गोरखा उद्योग वाणिज्य संघको साधारसभा तथा अधिवेशन समारोहको उद्घाटनको क्रममा गृहमन्त्री बालकृष्ण खाँणले टायर उत्पादन गर्ने नेपालकै एक मात्र गोरखकाली रबर उद्योग चलाउन उद्योग वाणिज्य संघले अग्रसरता लिनुपर्ने बताएका छन् ।

‘बन्द गोरखकाली रबर उद्योग चलाउनुपर्छ, कसरी यसलाई संचालन गर्न सकिन्छ म विभागीय मन्त्रीहरुसँग सल्लाह गर्छु’, उनले भने, ‘यसलाई सञ्चालन गर्न उद्योग वाणिज्य संघले अग्रसरता लिओस् ।’ रबर उद्योग संचालन हुँदा गोरखा जिल्लाको र राज्यको पनि कल्याण हुने उनले बताए । गोरखाको रबर उद्योग २०७२ यता पूर्ण रुपमा बन्द छ । कर्मचारीलाई अनिवार्य अवकास दिएको उद्योग कसरी संचालन गर्ने भन्ने मोडालिटी सरकारसँग छैन ।

सरकारले उद्योग धन्दा कलकारखाना चलाउँदा भन्दा ब्यवशायीले चलाउनुपर्नेमा उनले जोड दिए । ‘राज्यले वातावरण बनाउने हो, उद्योग धन्दा कलकारखाना ब्यवशायीले संचालन गर्ने हो’, उनले भने ‘उद्योग ब्यवसायीलाई सुरक्षा दिन राज्य तयार छ ।’ उद्योगी ब्यवसायीलाई आर्जन गरेको रकमबाट सामाजिक काममा पनि सहभागी हुन उनले अनुरोध गरे ।

‘उद्योग धन्दा र नयाँ ब्यवसाय गर्दै सरकारलाई पनि सहयोग गर्नुहोस्’, उनले भने । कतिपय ठाउँमा प्रशासनले उद्योगी ब्यवसायीलाई सताएको गुनासो आउने गरेको भन्दै उनले उद्योगी ब्यवसायीको सहयोगी बन्न प्रशासनलाई सुझाव दिए । सुरक्षा निकायमा लामो समयै एकै दर्जामा रहेको काम गर्नुपर्दा समस्या भएको बताउँदै उनले सरकारले नयाँ थप सेवा सुविधा ल्याएको र त्यो छिट्टै कार्यान्वयन हुने बताए ।
कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवन ज्योती श्रेष्ठले गोरखाको संभावना समस्या र चुनौतिका बारेमा जानकारी गराएका थिए ।

संघका महासचिव राजुबाबु श्रेष्ठले महासचिव प्रतिवेदन प्रस्तुत गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा उद्योगधन्दा कलकारखाना, ब्यापार ब्यवसाय प्रबर्धन गर्न राज्यले सघाउने बताए ।
उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग उनले भने, ‘गोरखामा पनि ठूला उद्योग ब्यापार ब्यवसाय संचालनका लागि लगानीकर्ता भित्र्याउन पहल गरिदिनुहोस, के सहयोग गर्नुपर्छ हामी तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्