| सोमवार, कार्तिक २३, २०८३

कमाउँदै सिक्दै : विद्यार्थीद्वारा १० रोपनी जग्गामा आलुखेती


पालुङ्टार नगरपालिका वडा नं. ९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती गरेका छन् । स्थानीय एक किसानको १० रोपनी खेत भाडामा लिएर आलु खेती गरेको विद्यालयका प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए ।


सो विद्यालयले यसबर्षदेखि कृषि प्राविधिक विषयमा पठनपाठन गर्न सुरु गरेको छ । प्रयोगात्मक, व्यवहारिक तथा व्यवसायिक सिकाइतर्फ प्रेरित गर्न विद्यार्थीलाई आलुखेतीमा सरिक गराइएको प्रअ सेढाईँले जानकारी दिए । ‘कक्षा नौका विद्यार्थीको नेतृत्वमा १० रोपनी जग्गामा ६०० किलोग्राम स्थानीय जातको अर्गानिक आलु लगायौँ’, प्रअ सेढाईँले भने, ‘उनीहरुलाई स्थानीय थानीमाई क्लव, ‘उनीहरुलाई स्थानीय थानीमाई किसान समूह, स्थानीय अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिले पनि साथ र सहयोग गरेका थिए ।’ स्थानीय बगुवा खेत भाडामा लिएर आलुखेती गरिएको हो ।


कृषि पढाइको प्रयोगात्मक सीप पनि बढ्ने, विद्यार्थीलाई खेती प्रणालीमा आकर्षण पनि गराउने र विद्यालयलाई धेरथोर आम्दानी पनि हुने हुनाले आलुखेती गरिएको विद्यालयको भनाइ छ । ‘यसबर्षदेखि यस विद्यालयमा कृषि प्राविधिक(बाली विज्ञान) पठनपाठन सुरु भएको छ’, प्रअ सेढाईँले भने, ‘त्यसका लागि प्रयोगात्मक परियोजनाका लागि बगुवाको १० रोपनी खेत पाँचबर्षका लागि दुईलाख रुपैयाँमा भाडामा लिएका छौँ । आम्दानीको २५ प्रतिशत विद्यार्थीलाई नै दिन्छौँ ।’ आलुजस्तै सिजनअनुसारका अन्य कृषि बाली खेती पनि गर्दै जाने लक्ष्य रहेको उनले बताए ।


कमाउँदै सिक्दै गर्ने कार्यलाई सरकारले पनि प्रोत्साहन गर्ने कार्यक्रम रहेकाले यसलाई निरन्तरता दिँदै जाने विद्यालयको योजना रहेको उनले बताए । यसले संवृद्ध पालुङ्टार सुखी पालुङ्टार नारालाई साकार पार्न सहयोगी भूमिका निर्वाह गर्ने प्रअ सेढाईँले विश्वास ब्यक्त गरे ।

स्थानीय बगुवाखेतको १० रोपनी क्षेत्रफलमा छसय किलोग्राम आलु लगाउँदै त्रिवेणी माविका विद्यार्थीहरु ।
तस्वीर : प्रअ. गणेश सेढाईँ ।

प्रतिक्रिया दिनुहोस्