
निर्माण ब्यवशायी संघको हिसाब प्रष्ट नभएपछि छानबिन समिति गठन, अधिवेशन लम्बियो
निर्माण ब्यवशायी संघ गोरखाको हिसाब किताब पारदर्शी नभएको भन्दै सदस्यहरुले आवाज उठाएपछि अधिवेशन लम्बिएको छ ।
मंगलवार उद्घाटन सत्र लगत्तै बन्द सत्र सक्ने र बुधवार निर्वाचनको कार्यक्रम सम्पन्न गर्ने गरी बनाइएको कार्यतालिका प्रभावित बनेको छ । बुधवार दिउँसो सक्ने तयारी भएको अधिवेशन बिहिवार बिहान सम्म लम्बिने भएको हो ।
संघका कोषाध्यक्ष भोला मरहट्टाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदनमा निर्माण ब्यवशायी संघको सांग्रिला बिकास बैंकमा रहेको खाता उल्लेख नगरेको, त्यहाँ भएको रकमबारे कुनै बिवरण नदेखिएको भन्दै सदस्यहरुले बन्द सत्रमा विषय उठाएका थिए । निर्माण ब्यवशायी संघले ठेक्का मिलाउँदा ब्यवशायी सँग लिएको रकम पारदर्शी नदेखिएको आरोप सदस्यहरुको थियो ।
संघका पदाधिकारीले चित्तबुझ्दो जवाफ नदिएपछि अन्ततः छानबिन समिति गठन गरिएको छ । संघका पूर्व उपाध्यक्ष चन्दनबाबु खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको संघले जनाएको छ ।
समिति सदस्यहरुमा देबेन्द्रजंग कुँवर, खिलबहादुर राना, उमेश अर्याल, हरि काराखेती रहेका छन् । समितिले बन्द सत्रमा उठेको सबालका बारेमा छानबिन गर्ने र प्रतिवेदन नयाँ समितिलाई बुझाउनेछ । समितिले छानबिनबाट आएको नतिजा सदस्यहरुलाई जानकारी गराउने सहमतीपछि बन्दसत्रको प्रक्रिया अघि बढेको एक सदस्यले बताए ।
निर्वाचन अधिकृत देविदत्त खनालले बुधवार साँझ ७ बजेबाट मतदान हुने र राती १० बजेबाट गणना हुने तालिका सार्वजनीक गरेका छन् । निर्माण ब्यवशायी संघको अध्यक्षमा सुर्य भण्डारी र होमबहादुर बानियाँ बिच प्रतिषप्रर्धा हुने चर्चा छ ।




