| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण ब्यवशायी संघको चुनाव आज

निर्माण ब्यवशायी संघ गोरखाको चुनाव आज हुँदैछ । नयाँ कार्यकालका लागि नेतृत्व चयन गर्न आज चुनावी कार्यक्रम हुने निर्वाचन कमिटीले जनाएको छ । बन्द सत्र मंगलवार साँझ नै सुरु भएपनि सहभागी सदस्यले हिसाब किताब पारदर्शी नभएको भन्दै प्रश्न गरेपछि बुधवार पुन बन्द सत्र हुने गरी स्थगित गरिएको थियो ।


१० औँ अधिवेशनको उद्घाटन मंगलवार भएको थियो । अध्यक्षमा सूर्य भण्डारी र होमबहादुर बानियाँको चर्चा छ । अन्य ११ जना सदस्य चयन हुनेछन भने चार सदस्य पछि मनोनित गरिनेछ । मनोनित र निर्वाचित सदस्यबाट कार्यसमिति पदाधिकारी चयन हुने ब्यवस्था छ ।


संघका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा मंगलवार भएको अधिवेशन उद्घाटन एवं साधारण सभा कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सार्वजनिक खरिद ऐन समय सापेक्ष सुधार नहुँदा स्थानीय तहलाई पनि विकास निर्माणको काममा ढिलासुस्ती ब्यहोर्नुपरेको बताए । ‘स्थानीय तहले निर्माण ब्यवशायीलाई अनुमति पत्र दिने मापदण्ड बनाउनुपर्छ’, उनले भने, ‘जथाभावी लाईसेन्स बाँडेर ब्यवशाय स्वच्छ र मर्यादित हुन सक्दैन ।’


कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष निकोशल पाण्डेले पाँच करोडसम्मको काम जिल्ला भित्रकै ब्यवशायी बिच प्रतिष्पर्धा हुने गरी ब्यवस्था हुनुपर्नेमा जोड दिए । निर्माण ब्यवशायी एउटाले राम्रो काम नगर्दा सबैलाई एउटै डालोमा राखेर हेर्न नहुने बताउँदै उनले सबै ब्यवशायीलाई संघमा आवद्ध हुने ब्यवस्था गर्ने हो भने संघ जबाफदेही बन्ने बताए । तर अहिले संघमा आवद्ध हुनुपर्ने बाध्यता ब्यवशायीलाई छैन ।


कार्यक्रममा निर्माण ब्यवशायी महासंघका उपाध्यक्ष एडी लामा, टेबहादुर सेठ्ठी, महासचिव रोशन दाहाल, केन्द्रीय सदस्य प्रमोद लामिछाने, गण्डकी प्रदेश महासचिव टंक बराल, निर्माण ब्यवशायी संघ कास्कीका अध्यक्ष शुरेसकुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योती श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।


कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ओमकाजी श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । पूर्व अध्यक्षहरु अच्यूतलाल श्रेष्ठ, भरतकुमार श्रेष्ठ, धिरजबहादुर मास्के ममदेब श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । संस्थाका सदस्यहरु मोहनबाबु श्रेष्ठ र कार्यालय सचिव उमेश अर्याललाई पनि दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्