| सोमवार, कार्तिक २३, २०८३

आयोजनाको पेश्की दिन निर्माण ब्यवशायी महासंघका अध्यक्ष सिंहको माग

बैंकमा तरलताको अवस्था सिर्जना हुँदा निर्माण ब्यवशायीलाई काम गर्न समस्या भएको निर्माण ब्यवशायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । निर्माण ब्यवशायी संघ गोरखाको १० औँ अधिवेशन उद्घाटन गर्दै उनले वैँकले लगानी नगर्दा व्यवसायीले चाहेर पनि काम गर्न नसकेको गुनासो गरे ।


‘बैंकले कर्जा प्रवाह गरेको छैन त्यसैले जिम्मा लिएको काम सुरु गर्न ब्यवशायीलाई समस्या छ’, उनले भने, ‘यो विशेष अवस्थामा सरकारले आयोजनाको पेश्कीस्वरुप १० प्रतिशत रकम दिने व्यवस्था गर्नुपर्छ ।’ यसअघि सरकारले पेश्की रकम दिने व्यवस्था कटौति गरेको थियो ।


एउटा ब्यवशायीले एक पटकमा तीन करोड रुपैयाँसम्मको दुईवटा ठेक्का र त्यो भन्दा माथिल्लो बर्गका कम्पनीका ब्यवशायीले तीन करोडभन्दा माथिका बढीमा तीनवटा टेण्डर बिड गर्न पाउने गरी ब्यवस्था गर्नुपर्नेबारे सरकारसँग लबिङ गरिरहेको उनले बताए । ‘यसो गर्दा समयमै काम सम्पन्न गर्न ब्यवशायीलाई पनि दबाव हुन्छ’ उनले भने ‘सबै ब्यवशायीले काम पनि पाउँछन् ।’


सरकारले १० करोड रुपैयाँसम्मको काम उपभोक्ता समितिबाट गर्न सकिने गरी बनाउन लागेको नीतिको उनले बिरोध गरे । ‘एक करोड बजेटको काम गर्न नसकेर उपभोक्ता समितिले ठेकेदार लगाउँछन्’, उनले भने ‘१० करोडको काम पनि समितिलाई दिने हो भने योजनाको बिजोग हुन्छ ?’ समितिमार्फत घुमाएर ठेकेदारलाई काम दिनुभन्दा सिधा–सिधा दिँदा नै व्यवस्थित र लागत सस्तो पर्ने उनले तर्क गरे ।


स्थानीय तहहरुले बलियो मापदण्ड र आधार बिना निर्माण ब्यवशायीलाई इजाजत दिएको भन्दै उनले सरकारले यसमा नियन्त्रण गर्नुपर्ने, निर्माण ब्यवशायी संघसँग सहकार्य गर्नुपर्ने बताए ।
निर्माणको काम समयमै सिध्याउन, विकास निर्माणलाई प्रभावकारी बनाउन अहिलेको सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्