| सोमवार, कार्तिक २३, २०८३

समता शिक्षा निकेतन नौ महिनादेखि बन्द

एकसय रुपैयाँमा स्कूलदेखि कलेजसम्म पढाइ हुने भनेर उत्साहपूर्वक स्थापना भएको गोरखाको समता शिक्षा निकेतन नौ महिनादेखि बन्द रहेको छ । विद्यार्थी भर्ना सुन्य भएपछि आफूले कार्यालय मात्र सञ्चालन गरेर बसेको एक शिक्षिका मेनुका पन्त बताउँछिन् ।

‘बैशाखदेखि कोही पनि भर्ना हुन आएनन्’, उनी भन्छिन्, ‘अहिले म एक्लै स्कूलको ढोका खोलेर बसेको छु ।’ कोभिड १९ महामारीका कारण त्यतिबेला सबै विद्यालय बन्द रहे पनि साउनदेखि अरु विद्यालय खुलेका थिए । तर व्यवस्थापनले समता सञ्चालन नगरेको हो । समता बन्द भएपछि यहाँ पढ्ने विद्यार्थीहरु नजिकका सामुदायिक तथा बोर्डिङ स्कूलमा भर्ना भएर पढेका छन् । ‘बन्द नभएको भए त यहाँको पढाइ एकदम राम्रो थियो, तर बन्द भयो’, स्थानीय मित्र नेपाली भन्छन्, ‘विद्यार्थीहरु पनि धेरै नै थिए ।’

कोभिड महामारीले अर्थतन्त्र तहसनहस भएका कारण विद्यालय सञ्चालन गर्न नसकेको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलको भनाइ छ । ‘कोभिडले विश्वभरको अर्थतन्त्र तहसनहस भएको त सबैलाई थाहै छ । त्यसकै असरले थला परेको समता उठ्न नसकेको हो । अरु कुनै कारण छैन’, सञ्जेलले भने, ‘अब नयाँ शैक्षिक सत्र सुरुभएपछि बैशाखबाट पक्कै सुरु हुनेछ ।’

लामो समयदेखि बन्द रहेपछि गोरखा नगरपालिका ६ ढाँडगाउँमा रहेको समता शिक्षा निकेतनको टहराहरु अस्तब्यस्त भएका छन् । बाँसका कप्टेराले बारेको र जस्तापाताले छाएको विद्यालयको झ्यालढोका ह्वाङ्गै भएको छ भने वरिपरि झाडी उम्रिएर ढाकेको छ । विद्यालयको पक्की संरचना बनाउनका लागि स्थानीय राजुबाबु श्रेष्ठले बुबा इश्वरीप्रसाद र आमा इश्वरीदेवीको स्मृतिमा पाँचरोपनी सातआना जग्गादान गरेका थिए । सो जग्गामा अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले १२ बर्षअघि संयुक्त रुपमा सिलान्यास गरेका थिए । तर

अहिलेसम्म भवन निर्माण हुन नसक्दा जस्ताको टहरोमा सञ्चालन हुदै आएको थियो । ‘गोरखाको समता शिक्षा निकेतन सञ्चालन गर्न व्यवस्थापनले चरम हेलचेक््रयाइँ गरेको छ’, जग्गादाता तथा गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ‘समताको मर्म र भावनाअनुसार मैले सदरमुकामको जग्गा निशुल्क उपलब्ध गराएँ । तर समताले गोरखालीको र मेरो पनि मर्म र भावना लत्याएर विद्यालय अस्तब्यस्त बनायो ।’ सो जग्गा फिर्ता गरेर गुरुकूल तथा मानव सेवाआश्रमलाई दिने पहल गरिरहेको उनले बताए । देशभरका समता शिक्षा निकेतन प्रसंसनीय रहे पनि गोरखाको ब्यबस्थापनले समताको बद्नाम गरेको उनले बताए ।

सो जग्गामा भवन बनाउन रोटरी क्लव अफ गोरखाले साझेदारी गरेको थियो तर तीनबर्षदेखि भवन बनाउन आलटाल गरिरहेको छ । ‘रोटरी क्लव इन्टरनेशनलको डिस्टिूक्ट ३२९२ (नेपाल, भुटान)बाट भवन निर्माणका लागि ३० लाख र एक जना सदस्यले एकलाख गरी हामीले ३१ लाख रुपैयाँ जुटाएका छौँ’, रोटरी क्लव अफ गोरखाका अध्यक्ष विशाल रानाले भने, ‘अनुमानित लागत र नक्सा नआएर काम रोकिएको थियो । हालसालै कस्ट स्टमेट आयो । मैले कागजपत्र डिस्टिूक्टमा पठाएको छु । अब ढिलो नहोला ।’

प्रतिक्रिया दिनुहोस्