
गोरखामा चार महिनामा कृषि तथा वनजन्य २७२ वटा नयाँ उद्योग दर्ता
गोरखामा पछिल्लो समय कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने क्रम बढेको छ । कृषि पेसा ब्यवशाय गर्ने बढेका छन् भने कृषिमा स्थानीय, प्रदेश र संघीय सरकारले संचालन गरेको अनुदानको कार्यक्रममा सहभागी हुन पनि यस्ता उद्योग दर्ता गर्ने क्रम बढेको हो ।
घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाका अनुसार साउनदेखि कात्तिकसम्म दुई सय २७ वटा कृषि तथा वनजन्य शीर्षक अन्तर्गत उद्योग दर्ता भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ‘यसमा पनि अधिकांस कृषिसम्बन्धी छन्’ उनले भने । यो वर्ष मात्र होईन स्थानीय र प्रदेश सरकार गठन भएयता हरेकबर्ष सबैभन्दा धेरै कृषि, घरेलु तथा वनजन्य उद्योग दर्ताको क्रम बढेको देखिन्छ ।
चार महिनाको यो अवधीमा पर्यटनमुलक उद्योग ४१, सेवामुलक २०, उत्पादन मुलक ११ गरी तीन सय ४४ वटा उद्योग दर्ता भएका छन् । सोही अवधीमा ९६ वटा उद्योग नबिकरण भएको छ भने लगतकट्टा २२ वटाको भएको छ । नौ लाख ९८ हजार चार सय रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख भुजेलले बताए ।
एक सय ७६ वटा बाणिज्य फर्म सोही अवधीमा दर्ता नबिकरण भएको कार्यालयले जनाएको छ । लगतकट्टा भएको बाणिज्य फर्म ३४ वटा रहेको छ भने यसबाट पाँच लाख ५४ हजार नौ सय २५ रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ ।




