
मानाका माना रगत छाद्ने चुमनुब्री ३ का सुनिपाल उपचार सेवाबाट बञ्चित
चुमनुब्री ३ देवलका ५३ बर्षका सुनिपाल गुरुङले रगत छाद्न थालेको आइतबार २४ दिन पुगेको छ । एक पटकमा धन्नै एकमाना रगत छाद्ने उनी आर्थिक अभावका कारण उपचार सेवाबाट बञ्चित छन् ।
‘गाउँको हेल्थपोस्टको ओखतीले छोएन । तल(गोरखा बजार) जान पैसा छैन’, घरमै थलिएर बसेका गुरुङ भन्छन्, ‘एकदिनमै दुईमाना, तीनमानासम्म रगत जान्छ । रिङ्टा लाग्छ, उठ्न, हिँड्न नसक्ने भएको छु ।’
उनलाई बिगत छ बर्षअघि क्षयरोग देखा प¥यो । ओखती खाए । त्यसपछि स्वास्थ्य जाँच गर्दा डाक्टरले टिबी छैन भने । ‘फेरि पोहोर रगत वाक्न थालेँ’, उनी भन्छन्, ‘छ, सातदिनसम्म रगत वाकेपछि निको भयो । अहिले फेरि एक्कासी रगत वाक्न थालेँ ।’ सिर्दिबास हेल्थपोस्टले फोक्सोमा समस्या छ भनेको उनले बताए ।
उपचार गर्न सहर पुग्न उनलाई गाउँबाट तीन दिन पैदल हिड्नुपर्छ । अहिले उनको साथमा न बाटोखर्च छ न उपचारखर्च । ‘ढुंगा फुटाउने काम गर्छु । गाउँमा १५, २० हजार रुपैयाँ उठ्नुछ, तर यस्तो बेलामा पनि दिँदैनन्’, उनी भन्छन्, ‘उपचार गर्न नपाएर म मरेँ भने ढुंगामुढासित पाखुरा बजारेर कमाएको त्यो पैसा मलाई के काम ?’
उनका १० बर्ष, १४ र १६ बर्षका तीन सन्तान छन् । ‘स्कूल पढ्दै गरेका छोराछोरी बुबाको उपचार खर्च जुटाउन सहरतिर मजदुरी गर्न जाने तयारी गर्दैछन्’, स्थानीय गणेश कार्की भन्छन्, ‘बुबाको अबस्था देखेर उनीहरु स्कूल जानै छोडेर घरमै बस्न थालेका छन् ।’
विशेषगरी रातको समयमा खोक्दा पनि नखोक्दा पनि रगत आउने उनी बताउँछन् । ‘बिहान चार, पाँच बजेतिर यस्तो हुन्छ’, उनी भन्छन्, ‘जब मुखबाट हलल रगत बग्न थाल्छ अनि आत्तिएर लल्याकलुलुक हुन्छन् ।’




