
मालपोतका सेवाग्राही लेखन्दासका ‘दास’
केशव गुरुङ
गोरखा नगरपालिका वडा ९ लक्ष्मी बजारकी पार्वती थापा गत विहिबार मालपोत कार्यालयमा आफ्नो जग्गा नामसारी गर्न आइन् । नामसारी गर्दा लेखपढी ब्यबसायीको सहायता लिनुपर्ने झन्झटिलो र बाध्यात्मक परिस्थितिको शिकार बनिन् ।
हातमा लालपुर्जा लिने बित्तिकै लेखापढी ब्यबसायीले दुईसय रुपैयाँ मागे । दिनैपर्ने नियम भन्ठानी उनले दिईन् । दिनभरि लाइनमा बसिन् । तर काम भएन । फेरि साँझ घर फर्किनै लाग्दा लेखापढी ब्यबवसायीले दुई हजार रुपैयाँ मागे । कागजपत्र तयार गरेबापत २२ सय रुपैयाँ बुझाएकी उनको शुक्रवार बेलुकासम्म पनि काम बनेन ।
पालुङटार नगरपालिका वडा नं. ७ का च्याङलीका बिष्णु कुँवर मालपोतमा गत शुक्रबार जग्गा रोक्का गर्न आए । आइतबार दिउँसोसम्म मालपोतको आँगनमा तनाबमा भेटिएका उनले भने, ‘जग्गा रोक्का गर्न आएको हो । लेखपढी ब्यबसायीलाई १० हजार रुपैयाँ बुझाइसकेँ तर अहिलेसम्म काम भएको छैन्, आज हुन्छ कि भन्यो हुँदैन, भोलि हुन्छ कि भन्यो हुँदैन । हैरान भैयो ।’ जग्गा रोक्काको कागजपत्र बनाएबापत लेखापढी गर्नेले आफूसित १० हजार रुपैयाँ लगेको उनले बताए । छिटो काम हुन्छ भने उनले दिए ।
यस्तै, सिरानचोक गाउँपालिका वडा ६ नयाँसाँघुका प्रेमबहादुर विक आफ्नो छोराहरुको नाममा जग्गा नामसारी गर्न आएका थिए । लेखापढी ब्यबसायीले पहिले १७÷१८ हजार रुपैयाँ दिनुपर्छ भने । ‘त्यति त धेरै भयो भनेर आठ हजार मात्रै थमाईदिँए’, उनले भने । ‘सिधासादा र बोल्न नसक्नेहरुलाई त लुट्दा रहेछन् ।’ सरकारी कार्यालयको आँगनमा दिनदहाडै लुट मच्चिँदा जनता मर्कामा परिरहेको तर सरकारले कारबाही नगरेको भन्दै उनले आश्चर्य व्यक्त गरे । ‘बोल्न नसक्नेहरुलाई त जति पनि लिँदा रहेछन् । सरकारलाई थोरै बुझाए पनि हुने, लेखन्दासलाई हजारौँ हजार तिर्नुपर्ने कस्तो अचम्म हुँदो रहेछ’, उनले भने, ‘सरकारको आँगनमा जनता ठगिने कस्तो अचम्म । हामीलाई छिटो लालपुर्जा चाहिएको छ । उनीहरुले जति पनि ठटाइहाल्छन् ।’
भीमसेन थापा गाउँपालिका वडा ७ बोर्लाङका रामशरण विश्वकर्मा जग्गा नामसारी गर्न विहिबार आए । शुक्रबारसम्म काम भएन । उनले भने, ‘एउटै कर्मचारी दुई÷तीन ठाउँमा काम गर्न जानुपर्ने रहेछ । त्यसैले मेरो काम ढिला भयो । तर यहाँको लेखापढी दिदीहरु कर्मचारीलाई पनि छुट्टै चार्ज (घुस) दियो भने भित्रको काम छिट्टै हुन्छ भन्दै पैसा माग्दै थिए ।’ लेखापढीले भित्रका स्टाफलाई समेत दिनुपर्छ भनेर तीन हजार रुपैयाँ दिनुस भनेर मागेको तर आफुले नदिएको उनले बताए ।
अधिकांश सेवाग्राही कार्यालयका कर्मचारीप्रति असन्तुष्ट देखिन्थे । भनेको समयमा सेवा नपाएको भन्दै निराश पोखिरहेका थिए । कर्मचारी र लेखन्दासको मिलेमतोमा काम ढिला गराएर पैसा माग्ने गर्छन्’, गोनपाकी पार्वती थापाले भनिन् । यी एक, दुईवटा मात्र होईन । दिनदिनै, छिनछिनै यस्ता घटना मालपोत आसपास घटिरहन्छ ।
कार्यालय समय सुरुहुनु अघि नै सेवाग्राहीहरु लेखापढीको घेराबन्दीमा परिसकेका हुन्छन् । लेखापढी ब्यबसायीको शरणमा नगई काम नहुने भएपछि शिक्षिक, अशिक्षित सबैजना लेखन्दासको दास बन्ने गरेको सेवाग्राहीको गुनासो छ । लेखापढी व्यवसायीले सेवाग्राही ठग्ने गरेको कतिपय लेखापढी व्यवसायी स्वीकार गर्छन् ।
‘मालपोतमा कागजपत्र सेवाग्राही आपैmले लेखेर हुदैन । कसले लेख्यो भनेर कर्मचारीले सोध्छ । बाहिरको मान्छेले लेखेको हुदैन । त्यसैले जसरी भएनि लेखापढी ब्यबसायीले नै लेखेको हुनुपर्दछ । कागजपत्र मिलाएबापत सबैले मनलाग्दी शुल्क लिन्छन्’, एक जना लेखापढीले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने, ‘अंशवण्डा गर्नुपर्ने छ भने ३÷३ हजारको दरले लिन्छौँ । राजिनामा गर्दा दुईहजारदेखि २५ सय, तीन हजारसम्म लिन्छौँ । जग्गा धितोमा राख्दा नौ सयदेखि १५ सय रुपैयाँसम्म लिने गरेका छौँ ।’ तर कोही कोहीले भने सकिएको कामलाई पनि अल्झाई अल्झाई १५÷२० हजार लिने गरेको उनले बताए ।
काम मिलाइदिने भनेर मालपोत आसपासका होटल ब्यबसायी, फोटोकपी पसलेहरुले पनि सेवाग्राहीसँग हजारौँ ठगी गर्ने गरेको उनले बताए । लेखापढी व्यवसायीले लिने शुल्क निर्धारण नहुँदा तथा निर्धारण गरे अनुसारको शुल्क नलिई आफुखुशी गर्दा सेवाग्राही ठगिने गरेका हुन् ।




