| मङ्लबार, कार्तिक २४, २०८३

भीमकुल सहकारीद्वारा एकबर्षमा पौने दुईकरोड मुनाफा आर्जन


गोरखाको नामी सहकारी भीमकुल बचत तथा ऋण सहकारी संस्थाले एकबर्षमा एक करोड ७७ लाख दुईसय १६ रुपैयाँ मुनाफा आर्जन गरेको छ । गण्डकी प्रदेशमा पटक पटक पुरस्कृत हुँदै आएको सो सहकारीले आर्थिक बर्ष २०७७÷०७८ मा पौने दुई करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो ।


तीनहजार सातसय ७७ जना सेयर सदस्य रहेको सो सहकारीले आउँदो बर्ष ३५ करोड ८८ लाख रुपैयाँ बराबरको पुँजी बनाउने लक्ष्य राखेको प्रवन्धक नवराज श्रेष्ठले जानकारी दिए । हाल सहकारीको पुँजी तथा दायित्व ३१ करोड छ लाख रुपैयाँ बराबरको रहेको उनले बताए ।


सहकारीले हालै सम्पन्न गरेको २६ औँ साधारण सभामा आउँदो एकबर्षभित्र सहकारीमा आठसय जना सेयर सदस्य थप गर्ने लक्ष्य निर्धारण गरेको छ । बुंकोट, ताप्ले, धावा अश्राङ र बोर्लाङ गरी साबिकका पाँच गाविसमा फैलिएको सो सहकारीलाई छिट्टै गाउँपालिकाभरि कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । सोका लागि सहकारीले बिनियम तयार गरेर सहकारी विभागमा पेश गरेको छ । स्वीकृत भएपछि भीमसेनथापा गाउँपालिकाभरि कार्यक्षेत्र विस्तार गर्ने प्रवन्धक श्रेष्ठले जानकारी दिए ।


साथै सहकारीले आउँदो बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गर्ने, सामुदायिक अस्पतालमा आवश्यकताको आधारमा सहयोगको कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । गाउँमा वैंकिङ सेवा सञ्चालन गरिरहेको भीमकुल सहकारीले विभिन्न ठाउँमा सेवाकेन्द्र स्थापना गरी सञ्चालन गर्ने पनि निर्णय गरेको छ । साथै युवावर्गलाई लक्षित गरी युवा उद्यमशिलता कार्यक्रम गर्ने जनाएको छ ।


सहकारीले आफ्नै मोबाइल बैंकिङ एप बनाएर काम गरिरहेको छ । विद्युत महशुलको बिल रिडिङ भएको एकसाताभित्र सहकारीको कार्यालयमा गएर मोबाइल एपबाट भुक्तानी गरेमा पाँच रुपियाँ छुट दिने गरेको छ । सो सहकारीले सदस्य राहत कार्यक्रम अन्तर्गत ३० हजार रुपैयाँसम्म अनुदान दिने गरेको र दुईवटासम्म सन्तान जन्माउने महिलालाई राहत भनेर सुत्केरीखर्चबापत दुई÷दुई हजार रुपैयाँ प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्