| सोमवार, कार्तिक २३, २०८३

भ्यागुते पहिरोले बानियाँ गाउँ र कुँडुले गाउँ उच्च जोखिममा

आरुघाट गाउँपालिका ७ को भ्यागुते पहिरोका कारण बानियाँगाउँ र कुँडुलेगाउँ उच्च जोखिममा रहेका छन् । गाउँभन्दा तलबाट स्थुलखोलामा झरेको पहिरोले करिब १० घर उच्च जोखिममा रहेको र अन्य १० घर जोखिमको सम्भावनामा रहेको वडा अध्यक्ष रणबहादुर बरामले जानकारी दिए ।
भूकम्पपछि पुनर्निर्माण भएका देवबहादुर बानियाँ, खुमबहादुर बानियाँको घर पहिरोले भत्किएको र रामप्रसाद न्यौपाने, कृष्णबहादुर श्रेष्ठ, कृष्णबहादुर बानियाँ, रोशन बानियाँ, गोपाल बानियाँ, बलबहादुर बानियाँ, लोकबहादुर अधिकारी, चेतबहादुर अधिकारी, कुमार अधिकारी, भुवलबहादुर बानियाँको घर रहेको जमिन चिरिएको अर्का स्थानीय रोशन बानियाँले जानकारी दिए ।

साथै टेकबहादुर बानियाँ, ज्ञानबहादुर बानियाँ, गोपाल बानियाँ, कुमार बानियाँ, हरि बानियाँ, राम बानियाँ, लोकबहादुर बानियाँलगायतको घर पनि जोखिममा रहेको उनले बताए ।
सो पहिरोका कारण केही घर बिस्थापित भइसकेको बानियाँले बताए ।

पहिरोले तानेको भूभागमा रहेको बानियाँगाउँ र कुँडुलेगाउँको करिब ६० घर जोखिममा रहेको गगन अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरोका कारण ज्ञानभूमि आधारभूत विद्यालय, आरुपोखरी सघन ग्रामीण विकास केन्द्रको भवनमा क्षति पुगेको छ भने सार्वजनिक पहिरेधारा, बानियाँधारा, सातबिसेको करिब छसय रोपनी खेत र पाखो गरी करिब दुईहजार रोपनी खेतबारी बगाएको छ ।

भ्यागुते पहिरो २०५१ सालदेखि झर्न सुरु गरेको हो । पहिरो खेपेर बसेका घरहरु भूकम्पमा भत्किएपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका थिए । भर्खरै पुनर्निर्माण भएका घरहरु पनि गत बर्खामा अझै ठूलो पहिरो झरेर थप क्षति गरेको अधिकारीले जानकारी दिए । ‘त्यहाँको अबस्था बिचल्ली भएको छ तर स्थानीयबासीले पनि कुरा माथि उठाउन सकेका छैनन् । सरकारको पनि चासो पुगेको छैन’, अधिकारीले भने, ‘पहिरो नियन्त्रणका लागि दुईबर्षअघि सांसदकोषबाट प्राप्त तीस लाखमा तीसवटा तार जाली लगाएर सकियो तर अबस्था जस्ताको तस्तै छ ।’

पहिरोको त्रासका कारण स्थानीय ४० घरधुरीलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्छ भन्ने सुझाव दिएको तर पीडितहरुले अटेरी गरेको वडाअध्यक्ष बरामको भनाइ छ । ‘पहिरोले दिनानुदिन तानिरहेको छ, भिरालो जमिन भासिइरहेको छ’, बरामले भने, ‘आफ्नो खेतबारी, गोठ इत्यादिको मायाले स्थानीयबासी स्थानान्तरण हुन मानेनन् ।’

पहिरो नियन्त्रण नहुँदा सँधै पहिरोको त्रासमा बसिरहनु परेको स्थानीय रोशन बानियाँको गुनासो छ । ‘सँधै बर्खामा ठूलो पहिरो झर्छ । पानी पर्न थालेपछि त्रासैत्रासमा बस्नुपर्छ’, उनले भने, ‘ठाउँ भिरालो छ । बीसौँ बर्षदेखि पहिरो झरिरहेको छ । बगाएर लाने हो कि भनेर सँधै डरैडर छ ।’ पहिरो नियन्त्रण हुनुपर्छ भन्ने स्थानीय पिडितको माग भएपनि सुनिदिने कोही नभएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्